दार्चुला । जडीबुटी उत्पादनका लागि प्रख्यात दार्चुलाबाट गत आर्थिक वर्ष २०८२/८३ मा ९० हजार एक सय २० किलोग्राम हिमाली जडीबुटी बाहिरी जिल्ला तथा विदेश निर्यात भएको छ। यसबाट १३ करोड ९२ लाख २४ हजार ५५ रुपैयाँ राजस्व संकलन भए पनि बहुमूल्य हिमाली जडीबुटीको संरक्षण भने ओझेलमा परेको सरोकारवालाको गुनासो छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत अमरसिंह धामीका अनुसार जिल्लाबाट यार्चागुम्बा, वनलसुन, टिमुर, पाषाणभेद, सुगन्धवाल, अमला, अल्लो, तेजपात, रिट्ठा, सेतकचिनी र चुत्रोलगायतका जडीबुटी निकासी हुँदै आएका छन्। यार्चागुम्बाको निकासी भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै हुने व्यवस्था छ।

गत आर्थिक वर्षमा ४४४.०६ किलोग्राम यार्चागुम्बा, दुई हजार ५३६.२६ किलोग्राम वनलसुन, २३५ किलोग्राम टिमुरसहित विभिन्न जडीबुटी बाहिरी बजारमा पुगेका छन् ।

कार्यालयका अनुसार अपि नाम्पा संरक्षण क्षेत्रभित्र करिब ७० प्रजातिका जडीबुटी पहिचान गरिए पनि हाल ३५ प्रजाति मात्रै व्यावसायिक रूपमा संकलन तथा निकासी भइरहेका छन्।
जडीबुटी व्यवसायी गणेशदत्त बडूले ठूलो परिमाणमा जडीबुटी निकासी भइरहे पनि यसको दीगो संरक्षणमा पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार हरेक वर्ष सबै प्रकारका जडीबुटी संकलनका लागि वन खुला गरिँदा अव्यवस्थित संकलन बढेको छ, जसका कारण बहुमूल्य हिमाली वनस्पति लोप हुने जोखिम बढ्दै गएको छ।
अर्का व्यवसायी जसमल बोहराले अपि नाम्पा संरक्षण क्षेत्रमा जडीबुटी व्यवस्थापन प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार जडीबुटी पाइने क्षेत्रमा जथाभावी उत्खनन, प्लास्टिक तथा मदिराका बोतल फाल्ने, वन फँडानी गर्ने जस्ता गतिविधि रोकिएका छैनन् ।
‘हरेक वर्ष हजारौँ मानिस जडीबुटी संकलनका लागि वनमा पुग्छन्। तर कर संकलन, फोहोर व्यवस्थापन र दाउरा कटानीको उचित व्यवस्था छैन,’ उनले भने, ‘सबै प्रकारका जडीबुटी एकैपटक संकलन गर्न अनुमति दिनुहुँदैन।
व्यवसायी तथा सरोकारवालाले जडीबुटीको वैज्ञानिक व्यवस्थापन, संकलन मापदण्डको कडाइका साथ कार्यान्वयन, पुनरुत्पादन र स्थानीय समुदायको सहभागितामा दीगो उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्रसिंह धामीले संरक्षण क्षेत्र कार्यालय र व्यवस्थापन परिषद्ले समयमै प्रभावकारी संरक्षणका कार्यक्रम लागू नगरे हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी संकटमा पर्ने चेतावनी दिए ।











