दार्चुला । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य श्यामसिह सिनालले दार्चुलाको समग्र खेलकुद विकासलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिनालले प्रदेश तहबाट जिल्लाको खेलकुद पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा आवश्यक सहयोगका लागि निरन्तर पहल गर्ने बताएका हुन् ।

उनले लामो समयदेखि निर्माणाधीन रहेको दार्चुला कबर्ड हलको निर्माण कार्य सम्पन्न गराउन आफूले विशेष पहल गरिरहेको जानकारी दिए ।

`जिल्लाका खेलाडीको प्रतिभा उजागर गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नेछु,´ उनले भने, ´खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग जुटाउन निरन्तर प्रयास रहनेछ।´
परिषद् सदस्यमा नियुक्त भएपछि पहिलोपटक सिनालले जिल्लाका खेलाडीहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका छन्। सम्मान कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च बनाउन र उनीहरूलाई थप उत्साहित बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
उनका अनुसार खेलाडीको सम्मानले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई प्रोत्साहन गर्ने बताए।















