दार्चुलामा भलिबलका सात जना राष्ट्रिय रेफ्री सम्मानित

दार्चुला । जिल्ला भलिबल संघ दार्चुलाले राष्ट्रिय भलिबल रेफ्रीहरूको सम्मान गरेकाे छ । राष्ट्रिय रेफ्रि काेर्ष पूरा गरेका जिल्लाका सात जना रेफ्रिलाई एक कार्यक्रमका बीच सम्मान गरेकाे हाे ।

खेलकुदमा रेफ्रीको भूमिका निष्पक्षता, अनुशासन र सम्मानको आधार मूल नाराका साथ सम्मान कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा वक्ताहरूले खेलाडीको पहिचान र खेलको गुणस्तर रेफ्रीको निष्पक्ष निर्णयबाट झल्किने भएकाले खेलकुदको विश्वसनीयता कायम राख्न रेफ्रीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले सही र गलत छुट्याउने जिम्मेवारी रेफ्रीको काँधमा रहने उल्लेख गर्दै निष्पक्ष निर्णयले नै खेलको गरिमा जोगाउने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका सभापति राजेश सामन्तले खेल क्षेत्रको समग्र सुधारका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी ब्रतराज पौडेलले खेल क्षेत्रको विकासका लागि सरकारी निकाय, खेलकुद संस्था तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै प्रशासन त्यसका लागि प्रतिबद्ध रहेको बताए ।

महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले खेलकुद विकासका लागि नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्।

जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू (कश्यप) ले खेलकुदको दिगो विकासका लागि सरकारी, गैरसरकारी तथा खेलकुदसँग सम्बन्धित सबै निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य श्याम सिनालले खेलकुद क्षेत्रको विकासमा दक्ष जनशक्ति उत्पादन र रेफ्रीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए।
सोही अवसरमा हालै राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गरेका सात जना रेफ्रीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। परिषद्का सदस्य श्याम सिनालले उनीहरूलाई सम्मान गरेका हुन्।
सम्मानित हुने राष्ट्रिय रेफ्रीहरूमा नरेश गिरी, गोमती जोशी, अनिता कुमारी धामी, अम्मरा ठगुन्ना,प्रशान्त ठगुन्ना, प्रिया डडाल र सन्तोष सिंह कुँवर रहेका छन् ।

कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न प्रतिनिधि, खेलाडी, प्रशिक्षक, रेफ्री तथा सरोकारवालाहरूको सहभागिता रहेको थियाे ।
जिल्ला भलिबल संघ दार्चुलाका अध्यक्ष प्रेमसिह ऐरीकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू प्रमुख अतिथि थिए ।

सम्बन्धित समाचार

ताजा समाचार