दार्चुला प्रहरीको वार्षिक प्रगति : १०७ फरार अभियुक्तमध्ये ८४ पक्राउ

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्लास्थित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम गर्दै एक वर्षको बार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
प्रहरीले फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत १०७ जनामध्ये ८४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रवक्ता हेमराज भट्टले बताए । उनका अनुसार उनीहरुलाई ३४ वर्ष ८ महिना कैद सजायको साथै ५ लाख ३० हजार ३९४ रुपैयाँ जरिवाना असुल गरिएको छ ।


जिल्ला प्रहरीले गरेको यो कार्यले न्याय सम्पादनमा सफलता मिलेको भन्दै जिल्ला अदालत दार्चुलाले जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महत, र प्रहरी निरीक्षक हेमराज भट्टलाई सम्मान समेत गरेको थियो ।
यस्तै चालु आर्थिक वर्षमा जिल्लामा १३९ वटा विपद्का घटना भएको प्रहरी तथ्यांक छ । ती घटनामा परी १३ जनाको मृत्यु, ३५ जना घाइते तथा २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये ८ जना भिरबाट लडेर, १ जना ढुंगा खसेर, १ जनाले हाम फालेका कारण, २ जना पानीमा डुबेर तथा १ जना माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।


प्रहरीले ट्राफिक व्यवस्थापनतर्फ १ हजार ५ सय ७ वटा सवारी कारबाहीबाट १२ लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यस अवधिमा २२ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि ३४६ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धानतर्फ १२७ वटा मुद्दा दर्ता भएकामध्ये ९२ वटा मुद्धा फछ्यौट गरिएको उनले बताए । जुन कुल मुद्धाको ७२.४४ प्रतिशत हो । यस्तै हाल ३० वटा मुद्दा पेन्डिङ र ५ वटा चालु अवस्थामा रहेका छन् ।
जघन्य कसुर अन्तर्गत दर्ता भएका १० वटा मुद्दा मध्ये कर्तव्य ज्यानका ४ र जबरजस्ती करणीका ६ वटा मुद्धा फछ्र्यौट गरिएको छ । त्यसैगरी यो अवधिमा २२८ वटा ठाडो उजुरी परेकोमा सबै फछ्र्यौट गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण र भन्सार छली नियन्त्रणमा प्रहरीको उपलब्धि
लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले सफलता हासिल गरेको जनाएको छ । सीमा क्षेत्रमा लागू औषध नियन्त्रण चूतौतिपूर्ण रहेको थियो ।
प्रहरीका अनुसार एक वर्षको अवधिमा ३ किलो ४८६ ग्राम चरेस र १० ग्राम ९५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । लागू औषधबारे १४ वटा मुद्दा दर्तामा २२ जना पक्राउ परेका छन् । खैरो हिरोइनको व्यापार तथा सेवनमा संग्लन मुख्य व्यक्ति समात्न सकिएको प्रहरीको दाबी छ ।
जिल्लाभर सञ्चालन गरिएको गाँजा फडानी अभियानअन्तर्गत हालसम्म २७ हजार २५ वटा गाँजाका बोट फडानी गरी नष्ट गरिएको भट्टले बताए ।

भन्सार छली नियन्त्रणतर्फ ७ लाख ३६ हजार ६५१ रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ । अवैध उत्खनन तथा वन पैदावार नियन्त्रणका क्रममा ४६ जना व्यक्ति, ४१ वटा ट्र्याक्टर, १ मिनी ट्रक, ३९ बोरा झ्याउ तथा करिब ६ लाख ३९ हजार ७०५ रुपैयाँ बराबरका अवैध नदिजन्य तथा वन पैदावार बरामद गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १,३४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी २० हजार ४९५ जना लाभान्वित भएका छन् । हालसम्म ७ वटा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएका छन् ।


बालमैत्री कोठा व्यवस्थापन
नयाँ सुविधासम्पन्न भवन निर्माणसँगै जिल्ला प्रहरी कार्यालय दार्चुलाले बालमैत्री कोठाको व्यवस्थापन गरेको छ । सेवाग्राहीका बालबालिका आएर स्तनपान गराउन तथा बालबालिका खेलाउन सहज हुने उद्देशयले बालमैत्री स्तनपान कक्षा कोठाको स्थापना गरिएको हो ।
कक्षा कोठाभित्र बालबालिका सुताउन मिल्ने व्याड, खेल्नको लागि खेलाउन सामाग्री सहितको राखिएको छ । सेवाप्रवाहमा सहजताको लागि बालमैत्री स्तनपान कक्षको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
सेवा प्रवाहमा सहजता ल्याउन जिल्ला प्रहरी कार्यालयले निःशुल्क निवेदन तथा जाहेरी लेखाउने व्यवस्था गरेको प्रहरी निरीक्षक भट्टले बताए । उनले भने, कार्यालयभित्रै सेवा लिन चाहनेहरुको लागि निशुल्क रुपमा निवेदन तथा जाहेरी लेख्ने प्रबन्ध गरेका छौं । यस्तै डिजिटल क्वीर कोडमार्फत निवेदनको ढाँचा उपलब्ध हुने व्यवस्था गरिएको छ ।

मादक पदार्थ सेवन परीक्षणका लागि ब्रेथलाइजर मेसिन, नेपाल प्रहरीको एपमार्फत उजुरी दर्ता, पीडितलाई अनुसन्धान प्रगतिको नियमित जानकारी दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी गौरब महतका अनुसार प्रहरीले अझै जिल्लामा अपराध नियन्त्रण तथा सुधार गर्नुपर्ने कार्य गर्न प्रहरी सधैं तत्पर रहेको बताए । अहिलेसम्म हामीले गरेका काममा सफलता पाएका छौं, डिएसपी महतले भने, अझै नागरिकको सेवाको लागि प्रहरीले सेवा दिन तयार छ ।

सम्बन्धित समाचार

ताजा समाचार