दार्चुला । छ वर्षपछि पुनः सञ्चालन हुन लागेको भारत–चीन सीमा व्यापार अनिश्चित बनेपछि भारतीय व्यापारीहरू अन्योलमा परेका छन्। उनीहरू अहिले चीनबाट आउने आधिकारिक सन्देशको प्रतीक्षामा बसेका छन् । तिब्बतको ताक्लाकोट बजारतर्फ प्रस्थान गर्न केही घण्टा मात्र बाँकी रहँदा चीनबाट तत्काल आउन नसक्ने सन्देश पछि उनीहरु अन्यौलमा परेका छन् ।
तिब्बत स्थित ताक्लाकोट बजारमा व्यापार सञ्चालनको तयारी पूरा गरी भारतीय व्यापारीहरू गुञ्जी पुगिसकेका छन्। व्यापारका लागि लगिएको सामान भने गुञ्जीस्थित गोदाममै थन्किएको छ।

भारत–चीन सीमा व्यापारअन्तर्गत भारतीय व्यापारीहरूको पहिलो टोली असार २४ (जुलाई ८) गते बिहान ताक्लाकोट प्रस्थान गर्ने कार्यक्रम तय गरिएको थियो। तर त्यसको एक दिनअघि, असार २३ (जुलाई ७) गते चीनका तर्फबाट इमेलमार्फत सन्देश पठाउँदै ताक्लाकोटमा भारतीय व्यापारीका लागि आवश्यक पसल तथा गोदामको पर्याप्त व्यवस्था अझै पूरा नभएको जानकारी गराइएको थियो ।

सन्देशमा ताक्लाकोट प्रशासनले आवश्यक पूर्वाधार निर्माणको काम गरिरहेको र सबै व्यवस्था पूरा भएपछि मात्रै अर्को सूचना पठाइने तथा त्यसपछि मात्र भारतीय व्यापारीलाई ताक्लाकोट जान अनुमति दिइने उल्लेख गरिएको छ।

यो सन्देश गुञ्जीमा रहेका व्यापारीहरूले प्राप्त गरेपछि उनीहरू निराश बनेका छन्। व्यापारीहरूका अनुसार छ वर्षको लामो प्रतीक्षापछि सीमा व्यापार पुनः सञ्चालन हुने आशा पलाएको बेला आएको यो सूचनाले अन्योल सिर्जना गरेको छ।
व्यापारीहरूले आवश्यक पूर्वाधार तयार नभएको भए त्यसबारे पहिले नै जानकारी गराउनुपर्ने बताएका छन्। अहिले व्यापारका लागि सामान तयारी अवस्थामा रहे पनि पठाउने मिति निश्चित नहुँदा गोदाममा राखिएको सामान बिग्रिने चिन्तासमेत बढेको उनीहरूको भनाइ छ।












