दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा कार्यालयले वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

प्रमुख संरक्षण अधिकृत अमरसिंह धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू कस्यपको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल रहेका थिए ।

कार्यक्रममा प्रमुख संरक्षण अधिकृत धामीले चालु आर्थिक वर्षमा कार्यालयले शतप्रतिशत भौतिक प्रगति हासिल गरेको तथा वित्तीय प्रगति ९९.९३ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार कार्यालयको पछिल्लो अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि सात वर्षदेखि गठन हुन नसकेको व्यवस्थापन परिषद गठन गर्नु रहेको छ ।

पहिलो परिषद गठनपछि दोस्रो कार्यकालका लागि परिषद गठन हुन नसकेको अवस्थामा आफू कार्यालय प्रमुख भएर आएपछि यसलाई पहिलो प्राथमिकतामा राखी परिषद गठन गरिएको उनले बताए ।
त्यसैगरी, संरक्षण क्षेत्रभित्रका स्थानीय तहमा आठवटा पालिकास्तरीय समिति गठन गरिएको र ती समितिका विधान तथा कार्ययोजना तयार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । परिषद गठनपछि संरक्षण क्षेत्रको व्यवस्थापनका लागि एकीकृत व्यवस्थापन कार्ययोजना तयार गरी विभागमा पेश गरिएको उनले बताए ।
कार्यालयले राहत वितरण प्रणालीलाई थप छिटो, सरल र पारदर्शी बनाएको तथा सरकारको ‘जिरो पेन्डिङ फाइल’ कार्यान्वयन गरी सेवाप्रवाहलाई प्रभावकारी बनाएको दाबी गरे ।












