दार्चुला । लिपुलेक नाका हुँदै कैलाश–मानसरोवर यात्रामा निस्केको भारतीय तीर्थयात्रीहरूको पहिलो टोली अतिक्रमित नेपाली भूमि गुञ्जी पुगेको छ । नयाँ दिल्लीबाट टनकपुर–पिथौरागढ–दार्चुला हुँदै सडकमार्गबाट गएको टोली आजै गुञ्जी पुगेको हो ।

लिपुलेक नाकाबाट कैलाश यात्रा र व्यापार गर्ने भारत–चीनको सहमतिप्रति नेपालले पहिल्यै विरोध जनाइसकेको छ । तर दुवै छिमेकीले विरोधका बाबजुद पनि कैलाश यात्रा र व्यापार थालेका छन् । यो वर्षको पहिलो कैलाश यात्रा टोलीलाई भारतीय विदेश मन्त्रालयले असार २० गते नयाँ दिल्लीबाट बिदाइ गरेको थियो ।

दिल्लीबाट शनिबार बेलुकी टनकपुर पुगेको कैलाश यात्राको व्यवस्थापन उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमले गरिरहेको छ । टनकपुरमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पहिलो टोलीलाई स्वागत गरेका थिए । टनकपुर मुख्यमन्त्री धामीको विधानसभा क्षेत्रमा पर्ने बजार पनि हो ।

टनकपुरबाट आइतबार पिथौरागढ हुँदै टोली धार्चुला पुगेको थियोे । पिथौरागढमा डिएम आशीष भटगाईंले स्वागत गरेका थिए । दमाहा र छलिया बाजासहित कुमाउँ संस्कृतिको झाँकी प्रस्तुत गर्दै कैलाश यात्रीहरूलाई स्वागत गरिएको थियो ।
धार्चुलाबाट सोमबार कैलाश–मानसरोबर यात्राको टोली गुञ्जी पुगेको हो । गुञ्जीमा टोलीलाई कुमाउँ मण्डल विकास निगमको पर्यटक आवास गृहमा राखिएको छ । कैलाश यात्राको सुरक्षा व्यवस्थापन भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) लाई दिइएको छ।
यो वर्ष लिपुलेक नाकाबाट १० वटा टोलीले कैलाश दर्शन गर्नेछन् । टोलीमा ५० जना यात्री छन् । पहिलो टोलीमा १५ महिला र ३४ पुरुष सहभागी रहेको दार्चुलाका एसडिएम आशीष जोशीले जानकारी दिए ।
पिथौरागढ जिल्ला प्रशासनले कैलाश यात्रा टोलीको स्वागत,आवास,भोजन, स्वास्थ्य परीक्षण,सुरक्षा,यातायात र अन्य आवश्यक व्यवस्थापन पूरा भएको जनाएको छ ।
पिथौरागढमा कैलाश यात्रीहरूले उत्तराखण्ड सरकारले सञ्चालन गरेको हाउस अफ हिमालयाज स्टलको अवलोकन पनि गरेका छन् । स्टलमा जंगली मह,पहाडी टोपी,मुनस्यारी क्षेत्रको राज्मा,कालो भट्ट र हर्बल चियाप्रति यात्रीहरूको आकर्षण देखिएको छ ।
पिथौरागढका जिल्ला अधिकारी (डिएम) आशीष भटगाईंले यात्रा मार्गको सुरक्षा, चिकित्सा,खानेपानी, सरसफाइ र अन्य आधारभूत सुविधाको उचित व्यवस्थापन गरिएको बताएका छन्। कैलाश यात्रीहरूको सहजता र सुरक्षित यात्राका लागि स्थानीय प्रशासन सक्रिय रहेको जानकारी दिइएको छ। यात्रुहरूको लागि एक जना चिकित्सक पनि खटाइएको छ।
समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको गुञ्जी क्षेत्रमा उनीहरुलाई दुई दिन विश्राम गराइने तालिका छ। गुञ्जीदेखि २२ किलोमिटर उत्तरतर्फ रहेको नाभीढाङमा थप दुई दिन विश्राम गराइनेछ। कालापानीभन्दा नौ किलोमिटर माथि लिपुलेकको फेदीमा नाभीढाङ अवस्थित छ ।
कैलाश–मानसरोवर यात्राको पहिलो टोली असार २६ गते अर्थात् जुलाई १० मा लिपुलेक नाका हुँदै चीनको सीमा क्षेत्रमा प्रवेश गर्नेछ। लिपुलेकबाट २० किलोमिटर दूरीमा रहेको चीनको ताक्लाकोट बजारमा यात्रुहरूलाई जुलाई १० मा विश्राम गराइने तालिका छ।
लिपुलेक नाका कटेपछि भारतीय तीर्थयात्रीहरूको यात्रा व्यवस्थापन चिनियाँ पक्षले गर्नेछ। दोभाषे, केही गाइड तथा शाकाहारी खाना पकाउने टोली पनि तीर्थयात्रीसँगै रहनेछन्।
कोभिड महामारी र गलवान घटनाका कारण सन् २०२० देखि उक्त यात्रा रोकिएको थियो। गत वर्षदेखि मात्रै भारत र चीनले कैलाश यात्रा पुनः सञ्चालन गरेका हुन् ।
गत वर्ष लिपुलेक नाकाबाट कैलाश यात्रीका पाँच टोलीले यात्रा गरेका थिए । नाथुला नाकाबाट १० टोलीले यात्रा गरेका थिए भने यो वर्ष लिपुलेकबाट १० टोलीले यात्रा गर्ने तालिका छ।
कैलाश–मानसरोवर यात्रासँगै लिपुलेक नाकाबाट व्यापार पनि खुलाउने तयारी गरिएको छ। लिपुलेकबाट व्यापार भने यस वर्षदेखि सञ्चालनमा ल्याउन लागिएको हो । चीनको ताक्लाकोट बजारमा व्यापारका लागि जान भारत सरकारले २६ जनालाई ट्रेड पास (व्यापार अनुमति पत्र) दिइसकेको छ। तीमध्ये १७ जना व्यापारी र ९ जना सहयोगी हुन् ।
लिपुलेकबाट परम्परागत रूपमा हुँदै आएको व्यापारलाई निरन्तरता दिन लागिएको बताइन्छ। पछिल्लो समय भारत र चीन दुवैतर्फबाट लिपुलेक नाकासम्म सडक पुगेकाले दुई देशबीचको व्यापारमा आधुनिकीकरण आउने सम्भावना छ।
सामान ढुवानीका लागि सवारीसाधनको प्रयोग हुने भएकाले सामानको मात्रा र प्रकार पनि बढ्ने अपेक्षा गरिएको छ। अब लिपुलेक नाका हुँदै दिल्ली र उत्तर प्रदेशका सहरसम्म चिनियाँ सामान पुग्नेछ भने भारतीय उत्पादन तिब्बतको सडकमार्ग हुँदै ल्हासा र चीनको मुख्यभूमिसम्म पुग्ने अपेक्षा भारतीयको छ ।












