दार्चुला । भारतसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ अन्तर्गतको कौवा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना नहुँदा सीमा सुरक्षा कमजोर बनेको छ। नियमित निगरानी नहुँदा वन क्षेत्रमा चोरीसिकारी, अवैध काठ कटानी तथा तस्करीका गतिविधि बढिरहेको स्थानीयले बताएका छन्।

तल्लो कौवा क्षेत्रमा बिओपी स्थापना गर्नुपर्ने निर्णय भएको छ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा २०७७ साउन १३ गते बसेको बैठकले बिओपी स्थापना तथा जग्गा प्राप्तिका लागि गृह मन्त्रालय र सम्बन्धित तालुक निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो।

त्यसपछि २०७८ साउन १५ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले पनि बिओपी स्थापनाको आवश्यकता औँल्याउँदै गृह मन्त्रालयमा पत्र पठाएको थियो। तर निर्णयअनुसार बिओपी स्थापना प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति गुणराज न्यौपानेका अनुसार बिओपी स्थापनाका लागि व्यास गाउँपालिकाले जग्गा उपलब्ध गराइसकेको छ। जग्गा नामसारीको प्रक्रिया पनि सुरु भएको भए पनि आवश्यक प्रशासनिक प्रक्रिया पूरा नहुँदा बिओपी स्थापना हुन सकेकाे छैन्।
हालै सरूवा भएर जानु भएका प्रमुख जिल्ला अधिकारी अनिल पाैडेल पनि विओेपी स्थापनाकाे लागि पहल गरे पनि पूर्णता पाउन नसकेकाे बताउँछन् ।
सीमा क्षेत्रको सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणका लागि स्थायी सुरक्षा उपस्थिति आवश्यक रहेको व्यासका स्थानीय दीपक खातीले बताए । कौवा क्षेत्रमा बिओपी स्थापना गरी सुरक्षाकर्मीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सके चोरीसिकारी र तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन सक्छ, उनले भने।
हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुबाट कौवा क्षेत्रमा नियमित गस्ती भइरहेको छ। गुल्मपति फणीन्द्रबहादुर शाहीका अनुसार गत वैशाखमा गस्ती टोलीले कौवा क्षेत्रबाट रुख काट्न प्रयोग हुने दुई थान चेनस बरामद गरेको थियो।
सशस्त्र प्रहरीको टोली देखेपछि भागेका तस्करले आपसी सम्पर्कका लागि प्रयोग गर्ने दुई थान बेवारिसे वाकीटाकी सेटसमेत बरामद भएको शाहीले जानकारी दिए।












