श्रमदानबाट अढाई महिनामै झोलुङ्गे पुल निर्माण, सांसद हर्क साम्पाङद्वारा उद्घाटन गरिदै

दार्चुला। दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२ दुम्लिङस्थित काठा दुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल अढाई महिनामै सम्पन्न भएको छ। पुलको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले मङ्गलबार गर्दैछन् ।

साम्पाङले गत चैत २४ गते पुलको शिलान्यास गरेका थिए। त्यसबेला उनले स्वयं श्रमदानमा सहभागी भई निर्माण अभियानको सुरुआत गरेका थिए। पुल निर्माण सम्पन्न भएपछि उद्घाटनका लागि उनी पुनः दुम्लिङ पुगेका हुन्।

अभियानका एडमिन म्यानेजर नवीन राईका अनुसार चैत २४ गतेदेखि निरन्तर श्रमदानमार्फत पुल निर्माणको काम सञ्चालन गरिएको थियो। पुल निर्माणमा चार सयभन्दा बढी स्वयंसेवक सहभागी भएका थिए। नेपालका विभिन्न जिल्लाबाट नागरिकहरू दुम्लिङ पुगेर श्रमदान गरेका थिए।

स्थानीय सविता बुढाथोकीले पुल निर्माणपछि विद्यालय जाने बालबालिका तथा स्थानीयवासीलाई खोला वारपार गर्न सहज भएको बताइन्। उनका अनुसार वर्षायामका चार महिना जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब हटेको छ।

स्थानीय द्रोपती जोहारीले पनि पुल बनेसँगै खोला तर्ने समस्या अन्त्य भएको बताइन्। यसअघि सोही स्थानमा दुई पटक सरकारी निकायबाट सर्वेक्षण गरिए पनि पुल निर्माण हुन नसक्दा स्थानीय जोखिमपूर्ण रूपमा खोला पार गर्न बाध्य थिए।

पुल निर्माणका प्राविधिक इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखी झोलुङ्गे पुल निर्माण गरिएको हो। वर्षायाममा विद्यार्थी विद्यालय जान नसक्ने तथा यार्सागुम्बा संकलनका लागि जाने नागरिकलाई आवतजावतमा सहज बनाउन पुल निर्माण गरिएको उनले बताए।

स्थानीयवासीले अहिले पनि विगतदेखि प्रयोग हुँदै आएको तुइन विस्थापित गर्दै भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकार तथा सांसद साम्पाङसँग आग्रह गर्दै आएका छन्।

दार्चुला पुगेर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सांसद साम्पाङले श्रमदान अभियानमा सहभागी सबैलाई धन्यवाद दिएका छन्। उनले आलोचना र उपहासका बीच पनि दुम्लिङका बालबालिका र स्थानीयवासीको अनुहारमा मुस्कान ल्याउन सफल हुनु नै आफ्नो अभियानको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरेका छन्।

साम्पाङले सफलता ठूलो उपलब्धिमा मात्र नभई विद्यालय जाने बालबालिकाको अनुहारमा देखिएको खुसीमै रहेको उल्लेख गरेका छन्। “सफलता हिमालजत्रो विशाल हुनुपर्दैन, दुम्लिङका स्कूले नानीहरूको मुस्कानमै मेरो सफलता छ,” उनले भनेका छन्।

उनले श्रमदानमा सहभागी सबै स्वयंसेवक र सहयोगीप्रति आभार व्यक्त गर्दै देशभर श्रमदानको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन्। पूर्व र पश्चिमबीचको एकताको सन्देश दिँदै उनले देशका जुनसुकै विकट बस्तीमा पुगेर श्रमदान गर्ने र गराउने अभियान जारी रहने बताएका छन्।

“म मर्दा मलामी आउनु पर्दैन, तर देश बनाउन बोलाउँदा नाईँ नभन्नु,” भन्ने भावनात्मक अपिल गर्दै उनले देश विकासका लागि लाखौँ गाली र अपमान सहन आफू तयार रहेको उल्लेख गरेका छन्।

दार्चुलाको दुम्लिङमा स्थानीयवासी र स्वयंसेवकहरूको सक्रिय श्रमदानबाट छोटो समयमै झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि यो अभियान देशभर चर्चा र बहसको विषय बनेको छ। साम्पाङले अब दार्चुलापछि अर्को कुनै विकट गाउँमा पुगेर यस्तै श्रमदान अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार