खण्डेश्वरी, दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बाेहराले “सुन्दर, समृद्ध र विकसित अपिहिमाल” निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गरेका हुन् ।

सार्वजनिक नीति तथा कार्यक्रममा परम्परागत कृषि प्रणालीको आधुनिकीकरण, रैथाने संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन र प्रविधिमैत्री स्वास्थ्य एवं शिक्षा सेवालाई मुख्य प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई प्रतिस्थापन गर्दै आधुनिक र व्यावसायिक खेतीतर्फ लैजान “एक वडा, एक आत्मनिर्भर उत्पादन कार्यक्रम” सञ्चालन गर्ने नीति लिएको छ।
प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन गर्दै अपिलाई प्राङ्गारिक (अर्गानिक) कार्यथलो बनाउने संकल्प गरिएको छ।
यसैगरी, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप र श्रम उपयोग गर्न “रिटर्नी कृषि उद्यम साझेदारी कार्यक्रम” र पशुपालन क्षेत्रको व्यावसायिकताका लागि “उत्पादनमा आधारित प्रोत्साहन प्रणाली” तथा “पूर्ण पशु बिमा कार्यक्रम” सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अपिहिमाल गाउँपालिकाले आफ्नो ऐतिहासिक, धार्मिक तथा प्राकृतिक क्षेत्रको संरक्षण गर्दै पर्या-पर्यटन र साहसिक पर्यटनलाई जोड दिएको छ।
अपिहिमाल आधार शिविर, तामाखानी, धरमघर, कपिल हिमाल बेसक्याम्प, सातगंगा चाइमटेला क्षेत्र र बयली ताललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ। गाउँपालिकाले यसअघि अपि वेश क्याम्प अभियान सञ्चालन गरेकाे थियाे ।
स्थानीय समुदायको आयआर्जनका लागि रैथाने खानपान र होमस्टे (घरबास) लाई जोड्दै “भेडिगोठ बास” जस्ता नवीन कार्यक्रममार्फत कृषि-पर्यटनलाई जीविकोपार्जनको आधार बनाइने जनाएको छ ।
पर्यटकीय क्षेत्रको डिजिटल मार्केटिङका लागि “अपिहिमाल पर्यटन डिजिटल अभियान” समेत सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ।
रोजगारी र सीप विकासका लागि गाउँपालिकाले “स्थानीय रोजगार बैंक” को अवधारणा अघि सारेको छ । दुर्गम क्षेत्रका उद्यमीहरूका लागि प्रविधि हस्तान्तरण गर्न “उद्यमीको आँगनमा प्रविधि” अभियान र सडक तथा इन्टरनेट नपुगेका क्षेत्रका परम्परागत हस्तकला संरक्षणका लागि “पुर्ख्यौली सीप, आधुनिक पहिचान” कार्यक्रम ल्याइने जनाएको छ ।
स्वास्थ्य र शिक्षामा स्मार्ट प्रविधि
स्वास्थ्य क्षेत्रमा नागरिक-केन्द्रित डिजिटल स्वास्थ्य एप र डिजिटल प्रविधिको प्रयोग बढाउन “टेलिहेल्थ तथा टेलिमेडिसिन” सहितको स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
दुर्गम क्षेत्रका नागरिकका लागि नि:शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै खण्डेश्वरी स्वास्थ्य चौकीलाई १० शय्याको आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गरिने नीति लिइएको छ। महिलाहरूका लागि पाठेघरको मुख र स्तन क्यान्सरको नि:शुल्क परीक्षण तथा बालबालिकाका लागि “खोज र खोप” अभियान चलाइनेछ।
पालिकाभरिमन सबै सामुदायिक विद्यालयहरूमा चरणबद्ध रूपमा “स्मार्ट क्लासरुम” को अवधारणा लागू गरिनेछ। प्रत्येक वडामा कम्तीमा “एक नमुना विद्यालय” विकास गर्ने र कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई एमबिबिएस लगायतका उच्च शिक्षामा छात्रवृत्ति दिने नीतिलाई थप विस्तार गरिने जनाएको छ ।
श्रमदानको संस्कृतिलाई व्यवहारमा उतार्न महिनाको एक दिन जनप्रतिनिधि र कर्मचारीसहित नागरिकहरूको प्रत्यक्ष सहभागितामा सार्वजनिक पूर्वाधार निर्माण तथा मर्मत गर्ने गरी “मेरो गाउँ, मेरो पसिना” अभियानलाई अनिवार्य बनाइने भएको छ ।
”एक घर एक धारा” को सुदृढीकरणका लागि “डिजिटल महसुल संकलन” तथा मुहानको पानीको शुद्धता मापन गर्न “डिजिटल वाटर क्वालिटी ड्यासबोर्ड” को सुरुवात गरिनेछ। “फोहरबाट मोहर” अभियान अन्तर्गत घरधुरी स्तरमा कम्पोस्टिङ अनिवार्य गरिनुका साथै पानीका मुहानहरू ब्युँताउन “रिचार्ज पोखरी” निर्माण र “वृक्षारोपण” कार्यलाई अभियानकै रूपमा अघि बढाइने छ ।
अपिहिमाल गाउँपालिकाको नीति तथा कार्यक्रम: जैविक प्रणालीयुक्त सामाजिक सुरक्षादेखि विद्युतीय शासनसम्म
पूर्वाधार विकासमा ‘डीपीआर’ र राष्ट्रिय भवन संहिता अनिवार्य
भौगोलिक सन्तुलन र समावेशिताका आधारमा पूर्वाधार विकास गर्ने लक्ष्य राखेको अपिहिमालले गाउँपालिकाको केन्द्रलाई सडक सञ्जालसँग जोड्न संघीय र प्रदेश सरकारसँग सार्थक पहल गर्ने भएको छ।
दिगो विकास लक्ष्यको आन्तरिकीकरण गर्दै अबदेखि पूर्वाधार निर्माण गर्नुपूर्व विस्तृत इन्जिनियरिङ अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिने उल्लेख गरेकाे छ ।
पालिकाभित्र निर्माण हुने सार्वजनिक तथा निजी भवनहरूमा राष्ट्रिय भवन संहिता र भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गरिनुका साथै निर्माण पूर्व नक्सा पास र निर्माण सम्पन्न भएपछि अनिवार्य अभिलेखीकरण गर्ने नीति तय गरिएको छ।
निर्माण कार्यमा उपभोक्ता समितिलाई कम परिचालन गरिने र खरिद कार्यलाई प्रतिस्पर्धी बनाउन विद्युतीय खरिद प्रणाली (ई-बिडिङ) मार्फत मात्र काम अघि बढाउन प्रोत्साहित गरिनेछ।
स-साना आयोजनामा बजेट छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दीर्घकालीन लाभ दिने “रूपान्तरणकारी आयोजना” मा पुँजीगत खर्च केन्द्रित गर्ने नीति पालिकाको छ।
”विपद् उत्थानशील हाम्रा गाउँ, सुरक्षित बनाउँछौँ आफ्नो ठाउँ” भन्ने नाराका साथ हरेक विकास निर्माणमा विपद् जोखिम न्यूनीकरणको अवधारणालाई आन्तरिकीकरण गरिने भएको छ। बाढी, पहिरो र आगलागी जस्ता विपद्को समयमा तत्काल राहत र उद्धारका लागि सुरक्षा निकाय र रेडक्रससँगको समन्वयमा क्षमता अभिवृद्धि गरिनेछ र ‘प्रकोप व्यवस्थापन कोष’ मार्फत राहत वितरणलाई व्यवस्थित बनाइनेछ।
खाली तथा ऐलानी जग्गाहरूमा व्यावसायिक वृक्षारोपण र जडीबुटी खेतीलाई प्रोत्साहन गर्दै वन क्षेत्रलाई रोजगारी र राजस्व वृद्धिको प्रमुख आधार बनाइने योजना छ।
अपिहिमाल गाउँपालिकाले नीति कार्यक्रम सर्वसम्मत पास गर्दै आज गाउँसभामा बजेट पेश गर्दैछ ।











