एसईईका करिब एक हजार विद्यार्थीका उत्तरपुस्तिका भेटिएन

काठमाडौँ — एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार हाराहारी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको हो । यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ३३ हजार ८ सय ८७ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये ३१ हजार ८ सय ५५ जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ । करिब १ हजार विद्यार्थीको नतिजा उत्तरपुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

तथ्यांकमा २ हजार ३ सय ३५ जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ । तर केहीको मिसिङ ९विविध कारण नतिजा स्थगित० तर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण तथ्यांक एक हजारभन्दा बढी देखिएको अधिकारीले बताए । ‘सबैको उत्तरपुस्तिका नभेटिएको भन्ने होइन,’ उनले भने ।

सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तरपुस्तिकामा विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको छ । ग्रेडवृद्धि (पूरक) परीक्षाअघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेडवृद्धि दिन पाउने व्यवस्था छ । सोमबारदेखि देशभर पूरक परीक्षा सञ्चालन भएको छ । तर पुनर्योगको आवेदन दिएका

विद्यार्थी नतिजा नआउँदा ग्रेडवृद्धि परीक्षा दिन बाध्य भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार