उदाहरणीय कार्य : कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जोशीको निजी लगानीमा गाउँमा सडक निर्माण गरिदै

दार्चुला : भनिन्छ, समाज परिवर्तन र विकासका लागि सधैँ सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन। बलियो इच्छाशक्ति र जन्मभूमिप्रतिको अगाध प्रेम भए एक्लो व्यक्तिले पनि समाजमा ठुलो रूपान्तरण ल्याउन सक्छ। यस्तै एउटा उदाहरणीय कार्य गरेर देखाएका छन्, कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पिताम्बर जोशीले।

यातायातको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीहरूलाई जोड्न जोशीले दार्चुलाकाे मालिकार्जुन गाउँपालिकामा आफ्नै निजी लगानीमा हन्सेश्वर–उकु–महल–श्रीपुर–पासादेउ सडक निर्माण कार्य गरिरहेका छन् । हाल यो सडक आयोजना अन्तर्गत पासादेउ पइकिधार खण्डमा ट्र्याक खोल्ने काम भइरहेको स्थानीय जनक जोशीले जानकारी दिए । यो क्षेत्रमा झण्डै चार किलोमिटर सडक काट्ने योजना छ ।


यो सडक निर्माण सम्पन्न भएसँगै मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ४, ६, ७ र ८ का स्थानीयलाई सहज हुने उनले बताए । सडक अभावका कारण दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा बिरामी पर्दा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता हट्न उनको विश्वास छ ।


उनले भने ‘निजी लगानीमा यति ठुलो सडक निर्माण हुनु सिंगो गाउँपालिकाकै लागि गौरवको कुरा हो। यो सडक बनेपछि सबैको लागि सहजता आउने छ ।
उद्योग र वाणिज्य क्षेत्रमा सफल व्यक्तित्वका रूपमा स्थापित जोशीले आफ्नो व्यावसायिक सफलतालाई जन्मभूमिको सेवामा जोडेर समाजमा एउटा नयाँ सन्देश दिन काम गरेको बताए । राज्यको बजेट पर्खेर बस्ने परिपाटीका बीच आफ्नै व्यक्तिगत सम्पत्ति खर्चेर गाउँ सडक पुर्‍याउने उनको यो कदमले अन्य व्यवसायी र समाजको नेतृत्व गर्ने व्यक्तिहरूलाई समेत सकारात्मक काम का लागि उत्प्रेणा गर्ने छ ।
यो सडकले मालिकार्जुनको आर्थिक, सामाजिक र कृषि क्षेत्रको विकासमा मदता पुग्ने छ ।

सम्बन्धित समाचार

ताजा समाचार