दार्चुला । आदि कैलाश यात्रा सिजन सुरु भएसँगै दार्मा र व्यास उपत्यकाका गाउँहरू पर्यटकले भरिभराउ भएका छन् । पर्यटकको बढ्दो आगमनले यहाँको पर्यटन व्यवसायले नयाँ गति पाएको छ भने स्थानीय बासिन्दामा उत्साह थपिएको छ।
दार्मा र व्यास उपत्यकाका आठवटा गाउँमा सञ्चालन भएका होमस्टेहरू पूर्ण रूपमा भरिएका छन् । देशका विभिन्न स्थानबाट आएका पर्यटकका कारण गाउँहरूमा चहलपहल बढेको छ । यात्रा सिजन सुरु भएयता हालसम्म २५ हजारभन्दा बढी यात्रुले आदि कैलाश र ओम पर्वतको दर्शन गरिसकेका छन् ।
व्यास उपत्यकाका नपल्च्यु, गुन्जी, नाबी, गब्र्याङ, बुन्दी र कुटी गाउँमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि होमस्टेहरू भरिभराउ भएका छन् । यसले स्थानीय पर्यटन व्यवसायलाई राम्रो आम्दानी दिलाएको छ ।
स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालकहरू पनि पर्यटकको आगमनले सन्तुष्ट छन् । पर्यटकहरूले बसोबास र खानपानसँगै स्थानीय रूपमा उत्पादन गरिएका ऊनी सामग्रीहरू समेत खरिद गरिरहेका छन् ।
उता, दार्मा उपत्यकामा पनि पर्यटकको आकर्षण बढ्दो छ। हिउँले ढाकिएका पञ्चाचुली हिमाल र अन्य हिमश्रृंखलाको अवलोकन गर्न आउने पर्यटकका कारण दातु र दुक्तु गाउँका होमस्टे तथा रेस्टुरेन्ट सञ्चालकहरू यतिबेला निकै व्यस्त बनेका छन् ।

चीन सीमासम्म सहज यातायात भएपछि पर्यटक खुसी
तवाघाटदेखि आदि कैलाश र ओम पर्वत नजिकसम्मको सडक अवस्था सुधारिएपछि पर्यटकको संख्या तीव्र रूपमा बढेको छ । चीन सीमासम्म जोड्ने सडकलाई सीमा सडक संगठनले स्तरोन्नति गरेपछि यात्रुहरूको आवागमन सहज बनेको छ ।
सडकको अवस्था राम्रो भएपछि देशका विभिन्न भागबाट आउने पर्यटकहरू समेत सन्तुष्ट देखिएका छन् । सहज यातायात सुविधाले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको स्थानीयवासीको भनाइ छ ।

धारचुलामा चहलपहल, दार्चुलामा सुनसान
आदि कैलाश जाने पर्यटकका कारण भारतका होटल होमस्टे भरिभराउ दिनहु हुन्छ । यहाँका यातायात व्यवसायीले राम्रो रोजगारी पाएका छन् ।
पर्यटकहरु नेपालको दार्चुला बजार घुमफिरको लागि मात्रै आउने गरेका छन् । व्यवसायी हरकसिह बडाल पर्यटकहरु भारतबाट नेपालको बजार हेर्न मात्रै बढि आउने गरेको बताउँछन् । पर्यटक दिनहु आउँछन्, तर कारोबार एकदमै न्यून छ । पर्यटकले नेपाली उत्पादन भएका झोला, ओखर, लगायतका सामग्री मात्रै खरिद गर्ने गरेका छन् । भारतीय पर्यटकलाई घुम्न पनि ठाउँ थोरै हुँदा नेपाली बजारले पर्यटकबाट सुविधा लिन नसकेको व्यवसायी बताउँछन् ।
दार्चुला सदरमुकाम खलंगाबाट नजिकको धार्मिक पर्यटकीय क्षेत्र डुङुरी मन्दिर छ । कैलाश दर्शन गर्न जानेको लागि डुङुरी त्यति प्राथमिकता पर्दैन् । अरु पर्यटनसँग व्यवसायी गर्नेहरु दार्चुलाको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन सक्यो भने भारतीय पर्यटकबाट लाभ लिन सकिने व्यवसायीको भनाई छ ।
राङकाङका बासिन्दालाई कुटी नदीमा पुल निर्माणको प्रतीक्षा
व्यास उपत्यकाको राङकाङ गाउँमा भने कुटी नदीमाथि पुल नबन्दा पर्यटन व्यवसाय प्रभावित बनेको छ । पुल अभावका कारण गाउँ पुग्न पर्यटकहरूले करिब एक किलोमिटर पैदल हिँड्नुपर्ने अवस्था रहेको छ ।
यही असुविधाका कारण धेरै पर्यटक गाउँसम्म पुग्न इच्छुक नदेखिएको स्थानीयको गुनासो छ। परिणामस्वरूप यहाँका होमस्टेहरू खाली रहेका छन् र सञ्चालकहरूले आर्थिक क्षति बेहोर्नुपरेको छ।
पर्यटन व्यवसायमा सकारात्मक प्रभाव
पिथौरागढका जिल्ला पर्यटन अधिकारी कीर्ति चन्द्र आर्यका अनुसार दार्मा र व्यास उपत्यकामा पर्यटकको उल्लेखनीय भीडका कारण पर्यटन व्यवसायले नयाँ गति पाएको छ । होमस्टे, होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको आम्दानी बढेको छ भने जिल्लाको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । उनले जिल्लामा पर्यटन गतिविधि विस्तार हुनु सुखद र उत्साहजनक विषय भएको बताए ।







