प्रधानमन्त्री साहलाई खुला पत्र

श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।

विषयस् कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा, कार्की आयोगद्वारा तयार गरिएको प्रतिवेदन कार्यान्वयन गर्ने जुन साहस हजुरले देखाउनु भयो, त्यो सराहनीय छ । उक्त कार्यको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अभियुक्तको दोष प्रमाणित भइसकेपछि दोषीलाई कारवाही अवश्य हुनुपर्छ तर कसैलाई कारवाही, कसैलाई उन्भुक्ति दिने कार्य नेपाली जनतालाई कदापि स्वीकार्य छैन । तसर्थ जेन्जी आन्दोलनका दोषी तिनवटै सुरक्षा निकायका प्रमुखलाई पनि तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउनुहुन हार्दिक अनुरोध गर्दछु । प्रहरीको हत्या गर्ने, दर्जनौं जिउँदै मान्छे जलाउने तथा भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीलाई पनि कारवाही गर्नुहुन अनुरोध गर्दछु । साथै, भ्रम फैलाएर देश जलाउने तथा प्रतिवेदनमा किटान गरिएका त्यस्ता पाँच जना इन्फ्लोयन्जरमा एउटा गौरी बहादुर कार्कीको पनि नाम थपी ६ जनालाई कारवाही अगाडि बढाउनु हुन विनम्र अनुरोध गर्दछु ।

भदौ २४ का विध्वंशकारीलाई पनि कारवाही हुनुपर्ने तर स्रोत–साधन तथा संसाधनको अभावका कारण त्यस्ता दोषीको पहिचान हुन नसकेको भनी कार्की आयोगको प्रतिवेदनमा उल्लेख छ । तसर्थ, त्यस्ता दोषीको पनि पहिचान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यसैसाथ एक प्रश्नावली समेत संलग्न गरी पठाएको व्यहोरा समेत यहाँ अवगत गराउन चाहन्छु ।

अन्त्यमा, देश र जनताको भरोसा तथा नेपाली मन जितेर प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । कारवाहीको प्रक्रिया अगाडि बढोस्, हामी तपाईंको साथमा छौं तर सम्माननीय प्रधानमन्त्रीज्यू, पक्षपात तथा कसैलाई काखा कसैलाई पाखा गर्ने संस्कार तथा पक्षपातपूर्ण व्यवहार अन्त्य गरी समान न्यायको संस्कार स्थापित गर्न विशेष ध्यान दिनुहुन अनुरोध गर्दछु ।
आगे हजुरको जो आज्ञा ।

भवदीय,

संजय खड्का
इटहरी २०, तरहरा
सुनसरी, कोशी प्रदेश ।

सम्बन्धित समाचार

ताजा समाचार