बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभर मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ । निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन् ।
बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन् । मतदानका लागि महिला र पुरुषको छुट्टा छुटै लाइनको व्यवस्था गरिएको छ भने असक्त, अपागंता, ज्येष्ठ नागरिक लगायतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नौगाड गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालयमा समेत मतदान केन्द्र तयारी अवस्थामा राखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीका अनुसार मतदान अधिकृतसहित आवश्यक कर्मचारी र सुरक्षाकर्मीको टोली नागु पुगेर निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।
निर्वाचन गराउन नागु पुग्नुभएका मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको बताए । बैठकमा सहभागिहरुले कोही व्यक्ति मतदान गर्न आए अवरोध नगर्ने सहमति गरेका छन् ।
निर्वाचन बहिष्कारको घोषणा गरेका कारण यस क्षेत्रमा उम्मेदवार समेत मत माग्न गएका छैनन् । नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् ।
यस्तै जिल्लाका सबै क्षेत्रमा मतदान सामाग्री सहित सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनको लागि क्षेत्र छुट्याउने कामदेखि मतदान स्थल तयार पारिएको छ । जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


दार्चुलामा धमाधम मतदान केन्द्र तयार पारिदै




