आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रचार प्रसारमा रहेको एमाले उम्मेदवार गणेशसिह ठगुन्नाको नेतृत्वको टोली लेकमम गाउँपालिकामा घरदैलो अभियानमा छन् । जिल्लाभरिका सबै वडाका वस्तीसम्म पुग्ने क्रममा ठगुन्ना लेकमको लाली पुगेका हुन् ।
घरदैलो अभियान अन्तर्गत आइतबार मालिकार्जुन गाउँपालिका–७ जडाइन, वडा नं. ६ को कुचाकोट, उकु, गराडा, बाकु, राडममा स्थानीय तथा यस क्षेत्रका अगुवा कार्यकर्तासँग उनले भेटघाट गरेका हुन् ।
जिल्लाको विकासको ढोका मानिएको महाकाली करिडोर सडक खण्ड अन्तर्गत पर्ने यी वस्तीहरुमा पुगेर उनले मतदाता भेटघाट गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा प्रवाह छोड्न सक्ने जिल्लाको विकासबादी नेता ठगुन्नाले आफुले यसअघि गरेका काम र जनताको समस्या सुन्ने काम गर्दै आइरहेका छन् ।
जिल्लाको हरेक भूगोल बस्तीमा उनलाई भव्यरुपमा स्वागत भइरहेको ठगुन्नाका स्वकीय दौलतसिह ठगुन्नाले बताए । उनले भने, नेतृत्वप्रती जनताको भरोसा छ । जनताको भरोसालाई पूरा गर्न एकपटक ठगुन्नालाई मतदान गर्न नागरिक आतुर छन् ।

एमाले दार्चुला महाकालीमा टोल कमिटी गठनमा व्यस्त
नेकपा एमालेका निर्वतमान केन्द्रीय कमिटी सदस्य हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिकाका वडाहरुमा टोल कमिटी गठनमा व्यस्त छन् । दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र महाकाली नगरपालिकाको मूल नेतृत्वको जिम्मेवारी पाएका जोशी टोल कमिटी गठनमा व्यस्त रहेका हुन् ।


निर्वाचन परिचालन अन्तर्गत उनले महाकाली नगरपालिका–१ मा टोलस्तरीय निर्वाचन परिचालन कमिटी गठन तथा वडा वडामा सम्पर्क कार्यालय स्थापना गरेका छन् । जोशीका अनुसार महाकाली नगरपालिका –१ को टोलस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा मलेरा टोलमा बहादुर कार्की, ओखलमा कलमसिंह कँुवर, कोटमा मञ्जु कँुवर, कोटधारमा कलराम लुहार, बबामा लालबहादुर बम, दहमा धनसिह कँुवर, कट्यौजेमा रामसिह धामी, छापरीमा तुलासिह कार्की, धम्पनेरामा करनसिह कार्की, थापागाउँमा हरना धामी, कलोनमा आइरन जोशी, श्रीवगडमा पूर्णबहादुर बम, कौतलीमा कुन्दनसिह कुँवर, सल्याडीमा हरि बडालको नेतृत्व रहने गरी ७८ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको जोशीले जानकारी दिए ।
मूल नेतृत्वको टोलीमा जिल्ला कमिटी सदस्य दुर्गा धामी, महाकाली नगरपालिका–१ वडा अध्यक्ष मोहनसिंह महरा, वडा कमिटी अध्यक्ष रामसिंह कार्की लगायतको टोली रहेको छ ।
जोशी भन्छन्, विकासमा प्रतिस्पर्धा, जनताका आशावादी नेता हुन् ठगुन्ना
नेकपा एमालेका निर्वतमान केन्द्रीय सदस्य हरदेव जोशीले दार्चुलाको विकासको लागि नेकपा एमालेका उम्मेदवार गणेशसिह ठुन्नाको प्रतिस्पर्धी कोही नभएको बताए । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि घरदैलो अभियानमा महाकाली नगरपालिकाका १, २ र ३ मा खटिएका जोशीले दार्चुलाको विकास एमालेबाट मात्रै सम्भव भएको बताए ।
दार्चुलामा तीन वर्ष एमालेको नेतृत्व प्रदेश र संघमा नहुँदा हाम्रो नेतृत्वले सुरु गरेको विकास निर्माण काम रोकियो, उनले भने, अहिले पनि जिल्लाबासीले नेतृत्व छनौट गर्न सकेन भने फेरि पछि पर्छौं ।
महाकाली करिडोरमा हरेक वर्ष बजेट कम हँुदै गएको छ । प्रदेश गौरबका सडकका काम अघि बढेका छैनन् । एयरपोर्ट निर्माणको काम अलपत्र छन् । अस्पताल भवन निर्माण देखि जिल्लाका विकास निर्माणको काम अहिलेको गठबन्धनले गर्न सकेका छैनन् । हाम्रो नेतृत्व सरकारमा हुँदा यी सबै काम अघि बढेका थिए । जोशी भन्छन्, अहिलेको निर्वाचन सांसद हुने मात्र होइन्, देशको राष्ट्रियता रहने कि नरहने ? देश बचाउनेसम्मको सवाल छन् ।
उनले अहिले देशी विदेशी तत्वहरुले हाम्रो पार्टी नेतृत्व र पार्टीमाथि आक्रमण गरिरहेको भन्दै जनताले मात्रै त्यसको प्रतिबाद गर्न सक्छन् ।
जिल्लाभरि अगुवा नेता परिचालन
नेकपा एमालेले जिल्लाका ६१ वटै वडामा पार्टीका अगुवा नेता परिचालन गरेको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्लाभर एकैपटक अगुवा नेता परिचालन गरेका हुन् ।
एमाले कार्यालय सचिव नारायणदत्त भट्टका अनुसार प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, र वडा कमिटी, निर्वाचित जनप्रतिनिधि अगुवा नेताहरुलाई घरदैलो र बस्तीस्तरमा पठाइएको छ । सकेसम्म सबै घरधुरीमा जनताको जनगुनासो सुन्ने गरी परिचालन गरिएको छ ।
जनतालाई नेकपा एमाले सरकारमा हुँदा गरेका कामबारे जानकारी गराउने, २०७९ सालदेखि प्रदेश र संघमा एमालेको नेतृत्वमा हुँदा रोकिएका कामहरुबारे जनतालाई जानकारी गराउने गरिएको छ । एमाले प्रतिनिधि हुँदा अघि बढेका जिल्लाका विकास निर्माणका कामहरु गठबन्ध सरकार र काग्रेसबाट प्रतिनिधि हुँदा अघि बढ्न नसकेको एमालेको आरोप छ ।
मतदातालाई निर्वाचनमा भोट हाल्ने तरिका बारे जानकारी गराउने काम भइरहेको छ । अहिलेको निर्वाचन नेतृत्वमा मात्रै चयन गर्ने नभई राष्ट्र र राष्ट्रियता जोगाउन सक्ने नेतृत्व चाहिएको छ ।
यस्तै निर्वतमान प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिह धामी, प्रदेश कमिटी सदस्य उमेशराज जोशी, जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशी लगायतको टोली मार्मा गाउँपालिकाका वस्तीहरुका कार्यकर्ताहरुलाइ भेटघाटमा व्यस्त छन् ।
यसैगरी महाकाली नगरपालिका–४ मा एमालेले चुनावी प्रचारप्रसारको र्याली निकालेको छ । खलंगा बजार क्षेत्रमा एमालेले ठगुन्ना जिताउन बजारमा माइकिङसहितको र्याली निकालेको हो । भने वडा नम्बर ३ मा निर्वतमान केन्द्रीय सदस्य हरदेव जोशी नेतृत्वको टोलीले घरदैलो गरिरहेको छ ।
एमाले प्रदेश कमिटी सदस्य उर्मिला बोहरा नेतृत्वको टोली अपिहिमाल गाउँपालिका–३ को क्षति घाजिरमा घरदैलो अभियानमा जुटेको छ । प्रदेश कमिटी सदस्य लालबहादुर विक नेतृत्वको टोली मालिकार्जुन र लेकम गाउँपालिकाको वस्तीमा परिचालन गरिएको भट्टले बताए ।
यस्तै प्रदेश कमिटी सदस्य लालबहादुर धामी नेतृत्वको टोलीले नौगाड गाउँपालिका–१ सुण्डमुण्ड क्षेत्रमा घरदैलो गरेको बताइएको छ भने शैल्यशिखर नगरपालिका पालिका कमिटी अध्यक्ष मनोरथ जोशी शैल्यशिखर नगरपालिका–८ मा घरदैलो अभियानमा छन् ।








