दार्चुला — महाकाली नगरपालिका–४ मा रहेको श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट औपचारिक रूपमा संचालन इजाजतपत्र प्राप्त गरेको छ । योसँगै संस्था दार्चुला जिल्लामै पहिलो पटक बचत तथा ऋणको मुख्य कारोबार गर्न अनुमतिपत्र पाउने सहकारी बनेको छ ।
प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड २०८२’ को दफा ४ बमोजिम पुष ८ गते संस्थालाई संचालन अनुमति प्रदान गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नम्बर २०६२–००७२७ रहेको छ ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीमा दर्ता रहेको संस्थाको कार्यक्षेत्र दार्चुला जिल्लाभर रहेको छ । हाल संस्थामा कुल ६ हजार ३०१ जना सदस्य रहेका छन् भने १ हजार ३७० जना ऋणी सदस्य रहेका छन् ।
संस्थाको सेयर पूँजी २ करोड ८४ लाख ८९ हजार ६ सय रुपैयाँ रहेको छ । त्यसैगरी जगेडा कोषमा ९१ लाख ८८ हजार ६९० रुपैयाँ तथा अन्य कोषमा १ करोड २ लाख ३७ हजार ३८२ रुपैयाँ संचित रहेको छ ।
संस्थामा हाल २३ करोड ७३ लाख ५१ हजार २३१ रुपैयाँ बचत संकलन रहेको छ भने २८ करोड ४४ लाख १५ हजार २५९ रुपैयाँ ऋण लगानी भएको प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए । संस्थाको कुल सम्पत्ति ३६ करोड १६ लाख ३८ हजार ३८४ रुपैयाँ पुगेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता तथा अभिलेखीकरण प्रक्रिया मंसिर १० गतेदेखि अनलाइन पोर्टलमार्फत सुरु गरेको हो । कानुनी व्यवस्थाअनुसार यस्ता सबै सहकारी संस्थाले प्राधिकरणबाट संचालन अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
यसका लागि अनलाइन प्रणालीमार्फत अभिलेखीकरण गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गर्दै ६० दिनको समयसीमा तोकेको थियो । सो समयसीमा पुनः थप गरी माघ मसान्तसम्म पुर्याइएको छ ।






