दार्चुला । शैल्यशिखर नगरपालिका भाडाको भवनबाट आफ्नै सुविधायुक्त भवनमा सरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको करिब १० करोड १९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएपछि नगरपालिका आफ्नै भवनमा सरेको हो ।
चादनी नमस्कार निर्माण सेवा जेभीले निर्माण भवन निर्माण गरेको हो । भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकासले ५० प्रतिशत र शैल्यशिखर नगरपालिकाले ५० प्रतिशत लगानी गरेके हो ।
भाडाको भवनमा सञ्चालन हुँदै आएको नगरपालिका अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न थालेको हो । आइतबार आयोजित एक कार्यक्रमबीच पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन गरे ।
नगर प्रमुख विजयसिंह धामी निर्वाचित भएपछि भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो । निर्वाचित भएको तीन वर्षभित्रै शैल्यशिखर नगरपालिका–९ मा अवस्थित साविक गोकुलेश्वर गाविसको भवन रहेको क्षेत्रमा प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको हो ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री ठगुन्नाले सीमित स्रोतसाधनका बाबजुद समयमै भवन निर्माण सम्पन्न गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । उनले भने, “शैल्यशिखर नगरपालिकाले भवन बनाउन नसकेको भनेर लागाइएको कलङ्कको टिका पखाल्ने काम गरेको छ । यस्ता टिकाहरू अन्य स्थानीय तहले पनि हटाउनुपर्छ ।”
नगर प्रमुख धामीले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो प्राथमिकता प्रशासकीय भवन निर्माण नै रहेको बताए । “सबैको एकताबद्ध प्रयासले आज भवन निर्माण सम्पन्न भएको छ,” उनले भने, “घरमुली राम्रो भए घर पनि बलियो बन्छ भन्ने उक्ति हामीले व्यवहारमा उतारेका छौं ।”
पहिलो कार्यकालमै भवन बनेको भए अन्य विकास निर्माणमा अझ बढी काम गर्न सकिन्थ्यो भन्दै उनले अघिल्लो निर्वाचित नेतृत्वले समयमा काम नगर्दा ढिलाइ भएको बताए । तथापि, आफ्नो नेतृत्वमा अठोटका साथ भवन निर्माण सम्पन्न भएको उनको भनाइ थियो ।
नगरभित्र सडक सञ्जाल विस्तारको सन्दर्भमा नगर प्रमुख धामीले विकट बस्ती रानिशिखरसम्म सडक ट्र्याक खोलिएको जानकारी दिए । वडा नम्बर २ को रत्यौडा र वडा नम्बर ५ को बगौरा हुँदै सडक ट्र्याक खोलिएको र वडा नम्बर ७ को खोल्सीसम्म गाडी सञ्चालन भइसकेको बताए । वडा अध्यक्षहरूको सुझावका आधारमा नगरका अधिकांश वडालाई सडक सञ्जालमा जोडिएको उनको भनाइ छ ।
कार्यक्रममा चमेलिया नदी किनारमा ठूला पूर्वाधार संरचना निर्माण भएकाले नदीमा पक्की तटबन्ध निर्माणका लागि पहल गरिदिन पूर्वमन्त्री ठगुन्नासमक्ष आग्रह गरिएको थियो । प्रशासकीय भवन, कृषि तथा पशुपन्छी भवन, गोकुलेश्वर माध्यमिक विद्यालय र क्याम्पस भवन निर्माण भइरहेकाले गोकुलेश्वर एयरपोर्टदेखि बजार क्षेत्र जोगाउन तटबन्ध अत्यावश्यक रहेको नगर प्रमुखको भनाइ थियो ।
कार्यक्रममा भवन निर्माण गर्ने निर्माण व्यवसायी सर्पराज बडूलाई प्रमुख अतिथि ठगुन्नाले खादा र प्रमाणपत्रसहित सम्मान गरे । निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षसमेत रहेका बडूले यसअघि शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ माध्यमिक विद्यालय, झरकडाको भवन निर्माण गरिसकेका छन् ।


भाडाको भवनबाट आफ्नै सुविधायुक्त भवनमा सर्याे शैल्यशिखर नगरपालिका




