दार्चुला । शैल्यशिखर नगरपालिका–३ ले बुधबारदेखि आफ्नै नवनिर्मित वडा कार्यालय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। नगर प्रमुख विजयसिंह धामीले एक औपचारिक कार्यक्रमका बीच सेवासुचारु भएको घोषणा गरेका हुन् ।
शैल्यशिखर नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटबाट उक्त वडा कार्यालय भवन निर्माण गरिएको हो। ०७४ सालदेखि भाडाको भवनमार्फत सेवा दिँदै आएको वडा कार्यालयले अबदेखि आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ।

वडा नं. ३ का वडा अध्यक्ष पदमबहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ भवनबाट सेवासुचारु गरिएको जानकारी गराइएको हाे । कुल ३७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवन वडाबासीकाे लागि महत्वपूर्ण उपलब्धि भएको नगर प्रमुख धामीले बताए।
“आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ थियो, सेवाग्राहीले पनि समस्या व्यहोर्नुपर्थ्यो। अब नयाँ भवन बनेसँगै सेवा लिन दिन सहज भएको छ,” नगर प्रमुख धामीले भने ।
कार्यक्रममा जग्गादाता जङ्गबहादुर चन्द र हरि चन्दप्रति वडाले विशेष धन्यवाद ज्ञापन गरेको छ।
०७९ सालदेखि शैल्यशिखर नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुगेकाे जनाएको छ। साथै, वडा नम्बर ३, ५, ७ र ८ का कार्यालय भवन पनि निर्माण सम्पन्न भइसकेका छन् ।






