दुहुँ गाउँपालिका अध्यक्ष बडाल भन्छन, ‘सम्बृद्धिसहितको विकास निर्माण नै हाम्रो प्राथमिकता’

दार्चुला । दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले गाउँपालिकाको विकास र सम्बृद्धिलाई मुख्य लक्ष्यका रूपमा लिएर काम भइरहेको बताएका छन् । एक पाइलो मल्टिमिडिया प्रालिको सहजीकरणमा सञ्चालन भएको चालू आर्थिक वर्ष ०८२÷०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा यस्तो बताएका हुन् ।
बडालका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, आयआर्जन तथा जीविकोपार्जन जस्ता क्षेत्रमा निरन्तर काम भइरहेको छ । ‘नीति–कार्यक्रमअनुसार काम अघि बढिरहेका छन् । सुशासनसहितको विकास गरेर दुहुँलाई सम्बृद्ध बनाउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष बडालले भने ।
पालिकासँग भएका जनगुनासो इमेल, उजुरी पेटिका तथा प्रत्यक्ष भेटघाटमार्फत लिन सकिने व्यवस्था भएको उनले बताए । उनले थपे, ‘हरेक वडामा जनप्रतिनिधि छन्, हाम्रा व्यक्तिगत हट्सप देख म्यासेन्जर छन्, । जनतासँग संवाद गर्न हामी सधैं तयार छौँ ।’
गाउँपालिकाभरि निःशुल्क शिक्षा सञ्चालन भएको छ । अनाथ बालबालिकाको शिक्षामा सहयोग, उच्च शिक्षामा लगानी तथा दक्ष जनशक्ति उत्पादनका कार्यक्रम अघि बढाइएको उनले बताए । छिट्टै गाउँपालिका बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी उनले दिए । गाउँपालिकाले बस सञ्चालनको लागि बजेट विनियोजन गरेको थियो ।
पालिकाभरिका आवश्यक्ता रहेका क्षेत्रमा विद्यालय भवन निर्माण, खानेपानी योजना निर्माण कार्य अघि बढेका छन् । वस्ती जोड्ने गरी सडक ट्रयाक खोल्न जेसिभी परिचालन गर्ने योजन बनेको अध्यक्ष बडालले बताए । उनले भने, इन्टरनेट नपुगेका विद्यालयमा सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको जानकारी गराए । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्था गरिने पनि उनले बताए ।

पहिलो चौमासिकमा १० लाख ५८ हजार रुपैयाँ राजस्व संकलन
दुहुँ गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० लाख ५८ हजार ९४८ रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाबाट ६ लाख ७२ हजार ९३४ रुपैयाँ र विभिन्न वडाबाट ३ लाख ८६ हजार १५ रुपैया गरी यो संकलन भएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरसिंह धामीका अनुसार वडा नं. १ मा ६७ हजार ४४१ रुपैयाँ, वडा नं. २ मा ५४ हजार ९९३ रुपैयाँ, वडा नं. ३ मा ३६ हजार ९९७ रुपैयाँ, वडा नं. ४ मा १ लाख ५४ हजार ८१ रुपैयाँ, र वडा नं. ५ मा ७२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।


सामाजिक सुरक्षा भत्ताबापत एक करोड ३६ लाख रुपैयाँ वितरण
दुहुँ गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख ६८ हजार ६३६ रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले जनाए अनुसार ज्येष्ठ नागरिक गैरदलित ७९१ जना, ज्येष्ठ नागरिक दलित ४६ जना, पूर्ण अपाङ्ग ३९ जना, आंशिक अपाङ्ग १२६ जना, विधवा २३६ जना, बाल संरक्षण अनुदान (दलित बालबालिका) ७६ जनालाइ सामाजिक सुरक्षा रकम वितरण गरिएको हो ।
यस्तै पञ्जीकरण सेवा अन्तर्गत गाउँपालिकाले जन्म दर्ता ७६ जना, मृत्यु दर्ता ४५ जना, विवाह दर्ता ३७ जोडी र बसाइ सराई ११ परिवारको गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार