दार्चुलाको अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक बसेकाे छ। अपिहिमाल गाउँपालिका केन्द्र खण्डेश्वरीमा बसेको उक्त बैठकले दुई पालिकाबीचको आपसी सहकार्य र समन्वयलाई अझ बढाउने निर्णय गरेको छ।
बैठकले दुवै पालिकाको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए। उनका अनुसार अन्तरपालिका समन्वयले दुवै पालिकाबीचको विकास, सहकार्य र आपसी समझदारीमा नयाँ आयाम थपेको छ।

बैठकले पर्यटन प्रवर्द्धनकाे लागि प्रचार–प्रसार गर्ने, दुवै पालिकाको असल अभ्यास आदान–प्रदान गर्ने निर्णय भएको बाेहराले बताए । यस्तै प्राकृतिक स्रोतको दिगो उपयोग, सीमा व्यवस्थापनमा सहकार्य, विपद् व्यवस्थापनमा सामूहिक तयारी र परिचालन जस्ता निर्णय भएको छ ।
बैठक अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल उपाध्यक्ष देवकीदेवी बोहरा, मार्मा उपाध्यक्ष शर्मिला चन्द सिंह, अपिहिमालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र साउद, मार्माका योजना अधिकृत रमेशचन्द्र अवस्थीसहित पालिकाका जनप्रतिनिधि तथा शाखागत कर्मचारीहरूको सहभागिता रहेको थियो।






