दार्चुला । दार्चुलाकाे महाकाली नगरपालिका वडा नम्बर ४ -खंलगास्थित खुलामञ्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर तयारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोली दार्चुला पुगेर आवश्यक कार्य गरिरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मान सिंह बुढाथोकीले जानकारी दिनुभयो ।
आइतवार (आज) दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र राखेपका प्राविधिक नविन थापाले कभर्ड हल निर्माण हुने स्थानको अवलोकन गर्नुभएको छ । खुलामन्चमा कभर्ड हल निर्माणका लागि लागि चालू आर्थिक वर्ष २०८१। ०८२ मा संघीय सरकारबाट १ करोड बजेट विनियोजन भएको थियो ।
आजै प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेको छ । उक्त बैठकले कभर्ड हल निर्माण कार्यमा स्थानीय प्रशासन, स्थानीय सरकार र जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला सबैको सहयोग र सहकार्य रहने निर्णय गरेको छ ।







