दार्चुला । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको मौलिक पर्व गौरा अष्ठमी भदौ १० गते सकियो । तर गौरा सकिएकै दोस्रो दिनदेखि लेकम क्षेत्रका मठमन्दिर तथा शक्ति पीठहरुमा खेडी, धोडी, लमधोडीको कारण देउडाको रौनकता छाएको छ ।
यस क्षेत्रका अधिकांश गाउँबस्तीमा खेल देउडा रौनकले साथिभाई इष्टमित्र भेटघाटको रुपमा रहेको छ । गौराको मुख्य दिन अठ्यावाली पछि गाउँमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत र देउडाको रौनक छाएको शैल्यशिखर नगरपालिका–७ का दुर्गादत्त जोशीले बताए ।
देथलीमा पछिल्लो समय धोडीको अवसरमा देउडामय हुने गरेको छ । ‘यो परम्परा धेरै पुरानो होइन्,’ उनले भने, ‘गाउँसम्म सडकको विस्तारसँगै विभिन्न ठाउँमा खेडी धोडी हेर्न जमघट हुने गरेको छ ।’
‘अहिले गाउँघरमा निकै रमाइलो वातावरण छ । परदेशीहरुमा पनि घरमा पुगेका छन् । चेलीबेटी माइत घर आएर भेटघाट गर्छन् । देउडाका कारण गाउँबस्तीहरु गुञ्जायमान छन्,’ उनले भने ।
विभिन्न राजारजौटा र देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र चैतहरु गौराको समयमा गाउने र खेल्ने गरिएको भराणे घनश्याम जोशीले बताए । यो आफन्त इस्टमित्रसँग देउडाका माध्यमबाट सुखदुख साट्ने परम्परा जस्तै हो ।
ठाडो खेल, ढुस्को, धमारी र चैतहरुमा देवीदेवताहरुको उत्पत्ति, रामायण, महाभारतका कथाहरु भन्ने गरिएको छ । ‘गौराका समयमा खेलिने खेलहरु हाम्रा संस्कृति हुन् । यस्ता खेलहरुमा इतिहास समेटिएको हुन्छ ।’ तर पछिल्लो समय गाउँमा मदिरा लगायतका कारण संस्कृतिमाथि विकृति बढेको बताउँछिन्, स्थानीय हेमन्ती जोशी । मान्छेको भीड बढ्नु त राम्रो हो तर विकृति पनि सँगै बढेको छ ।
गौराको समयमा गाउँका सबैजना एकैठाउँमा जमा भएर देउडा खेल्ने गरिएको छ । आफुलाई जानकारी भएसम्म १०÷१२ वर्षयता यस क्षेत्रमा मान्छे बढि आउन थालेका छन् । बुढापाकाले गर्दा पुराना भाकाहरु अहिले पनि सुन्न पाइन्छ । मादल, मिजरा, दमाहाको तालमा ठाडी भाका देउडा, खेणी लगायतका पुराना भाकाहरु यस क्षेत्रमा अहिले पनि गुञ्जयमान हुने गर्छ ।
देउडा खेल्दा गोलो घेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको स्थानीय जानकार बताउँछन् ।
देउडा विभिन्न समयमा खेल्ने गरिएको भएपनि ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका विधाहरु भने गौराको समयमा मात्रै खेल्ने गरिएको छ । देवीदेवताहरुको देउखलामा बाजागाजासहित पुगेर पूजाअर्चना गर्नाले रोगव्यथा नलाग्ने, जंगली जनावरले अन्न सखाप नपार्ने जस्ता किम्बदन्ती रहेको जोशी बताउँछिन् ।
बन्तोलीका गंगादत्त जोशी यो ठाउँमा मालिकार्जुन, शिखर देउता आएर बैठक बस्ने भएकै कारण देउथली नाम रहने गएको बताउँछन् । यो उच्च ठाउँमा छ । पछि हामीले यस क्षेत्रमा मालिकार्जुन मन्दिर बनाई सकेपछि यस क्षेत्रमा खेणी तथा पुजाँपाठ हुन थालेको हो ।
अहिलेको पुस्ताले विगतबाट हुँदै आएको संस्कृति संरक्षणमा चासो नदिएकोमा उनको चित्त दुखाई छ । अहिलेसम्म हामीले पुराना भाका जोगाएर राखेका छौ । अहिलेको पुस्ता मदिरा सेवन गर्छन् । आफ्नो परम्पराप्रति चासो कम हुँदै गएको छ । खासगरी यस्ता भेटघाटले एक अर्कासँग सद्भाव बढ्ने उनको भनाई छ ।
मालिकार्जुन, लेकम, महाकाली लगायतका क्षेत्रमा गौरापछि यस्ता कार्यक्रम हुँदै आएका छन् । खेणी हेर्न दार्चुलाका मात्र होइन्, बैतडीबाट समेत पुगेका थिए ।