मालिकार्जुन गाउँपालिकाकाको वार्षिक समीक्षा एवं सार्वजनिक सुनवाइ

मालिकार्जुन गाउँपालिकाको गत आर्थिक वर्ष ०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सनुवाइ तथा वार्षिक समीक्षा एवं सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजना तथा दार्चुला विकास संगठन (सारथी एफएम) को सहजीकरणमा सार्वजनिक सुनुवाइ एवं सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष हिरासिह धामी र प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना जवाफदेहि वक्ता रहेको कार्यक्रममा गाउँपालिकाका सबै विषयगत शाखा जनप्रतिनिधि एवं सर्वसाधारणको सहभागि रह्यो ।
गत आर्थिक वर्षको अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ तथा बार्षिक सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिकाले गत वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । मालिकार्जुन गाउँपालिकाले लिएको नीति अनुसार कामहरु अघि बढाएको जनाएको छ ।
एकघर एक धारा बनाउने लक्ष्य लिएको गाउँपालिकाले ०७९।०८० मा २०४ वटा घरमा पानीको धारा पु¥याएको ०८०।०८१ मा २८० धारा थप निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।
पूर्वाधार निर्माणतर्फ वडा नम्बर १ मा वडा कार्यालय भवन निर्माणाधीन छ । पालिकामा निर्माणाधीन १० सैयाको अस्पताल भवन निर्माण सम्पन्न गरिएको छ । पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको काम तिव्र गतिमा भइरहेको छ ।
पालिकामा कृषि तथा पशुसेवा शाखाको अत्याधुनिक भवन निर्माण सकिएको छ भने कृषि उपज संकलन तथा बहुउद्देश्यीय सभाहल निर्माणको काम भइरहेको छ ।
गाउँपालिकाले गत वर्ष ५.३ किलोमिटर सडक थप निर्माण गरेको छ । अहिले गाउँपालिकाभित्र ७४.४ किलोमिटर सडक निर्माण गरिएको छ । गाउँपालिकाका हरेक वडापालिकासम्म सडक पहुँच पु¥याउने र पालिकालाई रिङरोडमा जोड्ने गाउँपालिकाको उद्देश्य रहेको छ ।
वडाका वस्तीसम्म हिड्ने मिल्ने गरी ३ किलोमिटर पक्की पदमार्ग निर्माण भएको छ । अघिल्लो आर्थिक वर्षसम्म ६ वटै वडामा मात्र विद्युतिकरण भएकोमा अहिले सबै वडाका घरधुरीमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
शिक्षा क्षेत्रमा सुधार गर्न आधारभूत तह र माध्यमिक तहमा स्थानीय राहत शिक्षकको व्यवस्थापन गरेको जनाएको छ । पालिकाभित्रका ३ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
स्वास्थ्यमा सुधार गर्न डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान भइरहेको छ । स्थानीयको समस्यालाई मध्यनजरगर्दै घरदैलो सेवा पटकपटक सञ्चालन भएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । ८ वटै नागरिकका लागि तीन वटा क्षेत्रमा एम्बुलेन्स सेवा प्रदानगर्दै आएको छ । गरिब असहायलाइ निशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाले दिदै आएको छ ।
गाउँपालिकाले स्थानीयले उठाएको गुनासो सम्बोधनगर्दै अध्यक्ष धामीले पालिकाको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । साना ठूला समस्या समाधान गर्ने गरी पालिकाको टिम लागि परेको छ उनले भने, जनताको आधारभूत आवश्यकत्ता पूरा गर्नतर्फ हामी केन्द्रीत छौं ।
गाउँपालिकाले ०८०।०८१ मा चालू र पूजीगततर्फ झण्डै ८६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको कुल विनियोजित बजेट ५१ करोड ५२ लाख ४० हजार १०४ रुपैयाँमध्ये ४४ करोड ३ लाख ९९ हजार ६९७ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार