दुहुँ । दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिह बडालले दुहुँको विकास निर्माण अझै प्रभावकारी बनाउन सबै मिलेर हातमालो गर्नुपर्नेमा जोड दिएका छन् । दुहुँ गाउँपालिकाको आर्थिक वर्ष ०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले विकास निर्माणमा सबैले लाग्नुपर्ने बताएका छन् ।
दुहुँ गाउँपालिकाको आयोजना तथा एकपाइलो मल्टिमिडिया प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रममा उनले दुहुँको विकासको लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने धारणा राखे ।
उनले भने, ‘हामीले लिएको सुखी दुहुँ, सम्बृद्ध दुहुँ बासीको नारा सकार पार्न अहिलेको भन्दा अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने छ ।’ अहिले हामीहरु जनप्रतिनिधि कर्मचारीले आ–आफ्नो ढंगले काम गरिरहेकै छौ उनले भने, अझै हाम्रो काम गराइको स्प्रिट बढाउनुछ ।
आफुले कुनै पनि विषयगत शाखाका समस्या प्रमुख प्रशासकीय अधिकृतमार्फत जानकारी लिने भन्दै उनले भने, समग्र प्रशासनको नेतृत्व प्रसाकीय अधिकृतले गर्छन् । हाम्रो काम गराइले आर्थिक वर्ष ०८१।०८२ मा नयाँ ढंगले सोच्नुपर्छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा दुहुँ गाउँपालिकाका सबै विषयगत शाखाका शाखा प्रमुखहरुले प्रस्तुति राखेका थिए । पत्रकार नरेन्द्रसिह कार्कीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, गाउँपालिका उपाध्यक्ष शान्ति बम, प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जवाफ दिएका थिए ।







