१० औं अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामा पनि मनाइएको छ । । यस वर्ष ‘आफु र समाजको लागि योग’ भन्ने मूल नाराका साथ मनाइएको हो ।
महाकाली नगरपालिका दार्चुलाले आयोजना गरेको विश्व योग दिवस २०२४ को अवसरमा महाकाली नगर प्रमुख नरसिह चैसिर, मालिकार्जुन गाउँपालिका अध्यक्ष एवं पतञ्जली योग समिति दार्चुला अध्यक्ष हिरासिह धामी, महाकाली नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायतको सुरक्षा अधिकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, सर्वसाधारण एवं विद्यार्थीको सहभागिता रह्यो ।
योग प्रशिक्षक हिरासिह धामीले योग प्रशिक्षण गराए । उनले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याउने बताए । ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले भने । योग गर्दा अन्य कतै ध्यान नदिएर व्यक्तिगत जीवनमा ध्यान दिन आग्रह गरे ।
हरेक दिन कम्तीमा दुई घण्टा व्यक्तिगत जीवनलाई दिऔं उनले भने, योगले आफु मात्र नभई सिंगो समाजमा सकारात्मक उर्जा पैदा गर्छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।
पतञ्जली योग समिति दार्चुला, महिला पतञ्जली, युवा समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलाको संयोजनमा योग दिवस मनाइएको छ । दिवसमा अक्सफोर्ड अकाडमीका विद्यार्थीले विभिन्न कला प्रस्तुत गरे । पछिल्लो समय दार्चुलामा योग गर्नेहरु दिनानुदिन बढ्दै गएका छन् ।














