दार्चुलाका ६ स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत

स्थानीय तहहरुले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । निर्धारित समयमै बजेट ल्याउन दार्चुलाका स्थानीय तहहरु पनि सक्रिय भएर लागेका छन् । तर यहाँका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि छैनन् ।
यहाँका अधिकांश पालिकामा प्रमुख प्रशासकीय रिक्त हुँदा पालिकाका निर्णय प्रक्रिया, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन, मूल्यांकन, आर्थिक कारोबार, खरिदलगायतका प्रक्रिया प्रभावित बन्ने गरेको छ । तोकिएको पदअनुसारको कर्मचारी खटनपटन नगरिँदा स्थानीय तहमा बेथिति पनि चुलिएर गएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने हुन्छ ।
जसमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ । स्रोत अनुमान तथा तथा बजेट सीमा निर्धारण समितिको सदस्यसचिव नै प्रमुख प्रशासकीय अधिकृत हुन्छ। त्यस्तै, बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यका रूपमा पनि प्रमुख प्रशासकीय अधिकृतले काम गर्छ। त्यस्तै, आर्थिक वर्षको अन्तमा ठूलो भुक्तानी गरिँदा त्यसमा अनियमितता हुने गरेका छन्। भुक्तानी र जथाभावी निर्णय रोक्नमा पनि प्रमुख प्रशासकीयको भूमिका महत्वपूर्ण हुन्छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को दफा ३० को उपदफा ७ मा प्रदेश तथा स्थानीय तहको विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको खर्च शीर्षकको हकमा बाहेक अन्य बजेट शीर्षकअन्तर्गत भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
भुक्तानीको अवधि अब एक महिनाभन्दा कम छ। तर, यस्तो अवस्थामा पनि प्रमुख प्रशासकीय नहुँदा बेथिति बढ्ने जोखिम छ। यसमा महालेखाको पछिल्लो प्रतिवेदनले पनि प्रश्न गरेको छ । यति हुँदाहुँदै पनि दार्चुलाका दुई वटा नगरपालिका शैल्यशिखर र महाकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । शैल्यशिखर नगरपालिकामा सबैभन्दा धेरै बजेट समेत बेरुजु रहेको छ ।
यस्तै दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत छैन् । यी स्थानीय तहले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

ताजा समाचार