दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा पर्ने छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ । सरकारले आउँदो आइतवार अर्थात् जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियान सञ्चालन गर्दैछ । अभियानमा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप दिने तयारी छ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउन पाउनेछन् । देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ लगाइनेछ । तर व्याँस गाउँपालिकाको वडा–१ मा पर्ने दुई गाउँ छाङरु र तिङ्करमा अभियान सञ्चालन नहुने गाउँपालिको स्वास्थ्य शाखाका संयोेजक उमेशसिंह कुँवरले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलङ्गामा गर्मी बढेपछि त्यहाँका बासिन्दा कुन्चा सरेका छन् । कुन्चा सरेका छाङरु र तिङ्करगाउँमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने संयोजक कुँवरले बताउनुभयो । छाङरु र तिङ्करमा खोप पाउनुपर्ने बालबालिकाको सङ्ख्या शून्य रहेकाले ती गाउँमा खोप अभियान सञ्चालन नहुने भएको हो ।
२०७३ साल वैशाख महिनादेखि २०७५ साल असोज महिनासम्म जन्मिएका बालबालिकाको संख्या शून्य रहेकाले अभियानअन्तर्गत खोप आवश्यक नरहेको गाउँपालिकाले जनाएको छ । लक्षित उमेर समुहका बालबालिका अहिले जिल्ला सदरमुकाम खलङ्गामै रहेकाले त्यहाँका बालबालिकाले जिल्ला सदरमुकाम खलङ्गाबाटै खोप पाउने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनुभएको छ ।
अपि हिमाल गाउँपालिकामा भने खोप लगाउने तयारी छ । यार्सागुम्बा खोज्न लेकगएका विद्यार्थीलाई ल्याएर विद्यालय र स्वास्थ्य संस्थाबाट खोप दिने तयारी भएको अपि हिमाल गाउँपालिकाको स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो । अपि हिमाल गाउँपालिकामा तीन सय ३३ जना बालबालिकाले खोप लगाउनेछन् । उज्यालो बाट






