मध्य चमेलिया जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनमा राय माग गरियाे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा निर्माणाधिन २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा सरोकारवालासँग राय तथा सुझाव माग गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचना
आह्वान गर्दै सराेकारवाला निकायसँग राय सुझाव माग गरेकाे हाे ।

मन्त्रालयका अनुसार दार्चुला पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाको पूरक प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको छ। यसअघि स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजनाका केही मुख्य संरचनाको स्थान परिवर्तन गरिएपछि पूरक अध्ययनकाे लागि राय माग गरिएको छ ।

आयोजनाअन्तर्गत मार्मा गाउँपालिका–२ स्थित चमेलिया नदीमा बाँध निर्माण गरी नदीको पानी हेडरेस पाइपमार्फत वडा नम्बर ३ मा प्रस्तावित सतही विद्युतगृहसम्म पुर्‍याई विद्युत उत्पादन गरिने जनाएको छ। उत्पादनपछि पानी टेलरेसमार्फत पुनः चमेलिया नदीमै मिसाइने आयाेजनाले जनाएको छ ।

मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ बमोजिम प्रतिवेदन अध्ययन गरी सम्बन्धित व्यक्ति, समुदाय तथा सरोकारवालालाई सात दिनभित्र लिखित रूपमा राय वा सुझाव पेस गर्न आग्रह गरेको छ।

दार्चुला पावरले याे क्षेत्रमा अहिले विद्युत्को काम धमाधम गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार