अनुमतिबीनै स्थानीय यार्सागुम्बा खोज्न यार्सा संकलक पाटनमा

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख १६ गते सूचना जारी गर्दै संकलन अनुमतिपत्र लिएर मात्रै यार्सागुम्बा संकलन गर्न जानकारी गराएको थियो । यार्सागुम्बा संकलन जेठ दोस्रो साताबाट सुरु हुने गरी दश वटा ठाउँबाट अनुमित जारी गर्ने सूचनामा उल्लेख छ । तर अपि नाम्पा संरक्षण क्षेत्रले अनुमति जारी नगर्दै दार्चुलाका यार्सागुम्बा पाइने पाटनहरुमा संकलक पुगि सकेका छन् ।
यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ को व्यवस्थाअनुसार सबै यार्सागुम्बा संकलकहरुले अनिवार्य रुपमा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । तर जिल्लाका सबै भूगोलमा संलकहरु अनुमतिबीनै पुगेका छन् ।
अपि हिमालको लोलु, रोखापु, रिङ्देपानी, रोखापु, सतगंङ्गा, चाइमटेला, कालीढुङ्गा, काटै, धरमघर, क्षत्तिलगायत पाटनमा यार्चागुम्बा संकलन हुने गरेको छ । व्याँसको अपि, कुन्ती साउँ, दुधिवन लगायतका क्षेत्रमा संकलक पुगिसकेका हुन् ।
अपिहिमालको लोलुमा यार्सागुम्बा संकलन गर्दै आएका एक जना स्थानीयले भने, अहिलेसम्म अपि नाम्पा संरक्षण क्षेत्रको अनुमति लिएर कोहि आएका छैनन् । ‘अनुमति पत्र वितरण गरेको बारे जानकारी भएन,’ उनले ने । ‘अनुमति पत्र कडाईका साथ विगतका वर्षबाट हुन सकेको छैन् ।’
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्रसिह नगारीका अनुसार अहिलेसम्म झण्डै चार सयले मात्रै अनुमति पत्र काटेका छन् । जिल्लाभरीका पोष्टहरुबाट परिचय पत्र वितरण थालिएको छ । अधिकांशले परिचय पत्र नकाटेरै लेकतिर गएको सुनिएको छ, उनले भने । यार्सा संकलन गरिने सबै वनक्षेत्रमा कर्मचारी स्टाफ र आवश्यकता अनुसार सुरक्षाकर्मी समेत परिचालन गरेर अनुगमन गर्ने तयारी छ ।
यार्सागुम्बा संकलनको लागि स्थानीय लेक पुगेपनि यार्सागुम्बा भने पाइएको छैन् । अपिहिमाल गाउँपालिका–२ का भरतसिह धामीका अनुसार अहिले यार्सागुम्बा संकलकले दैनिक ३।४ पिसमात्रै यार्सागुम्बा पाउने गरेका छन् । यो वर्ष पाटनहरुमा हिउँ पनि छैन् । समयमै वर्षा नहुँदा यार्सागुम्बा उम्रिन पाएको छैन् ।
व्याँस क्षेत्रका स्थानीय गत वैशाख अन्तिमसाता लेकतिर पुगिसकेका छन् । अहिले गाउँमा स्थानीय भेट्टाउनै मुस्किल छ, व्याँस गाउँपालिका–२ का दानसिह कार्कीले भने । गाउँमा केहि समस्या भयो भने पनि मान्छे पाउन सकिदैन् ।
यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार संरक्षण क्षेत्रभित्रका स्थानीयबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ, संरक्षण क्षेत्रभित्र नपर्ने दार्चुला जिल्लाका नागरिकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँ र दार्चुला जिल्लाबाहिरका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ संकलन अनुमतिपत्रवाफत राजश्व संकलन गरिन्छ ।
जिल्लामा हरेक वर्ष ५ देखि १० हजारसम्म यार्सागुम्बा संकलक लेकतिर पुग्ने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार