दार्चुलाबाट चीन प्रवेशको लागि अनुमति पाए, जान अझै अनिश्चित

दार्चुला ।

चीनको सीमा क्षेत्र प्रवेशका लागि दार्चुलामा अनुमति पत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीन प्रवेशका लागि अनुमति पत्र ‘पास’ वितरण सुरु गरेको हो । कोरोना समयदेखि बन्द रहेको नेपाल–चीन सीमा नाका तिंकर हुँदै ताक्लाकोट प्रवेशको लागि पास वितरण सुरु भएको छ ।
दार्चुलाका राजनीतिक दल र व्याँसका स्थानीयको लामो प्रयासपछि पहिलोपटक पास वितरण सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बिहीबार २ जनालाई प्रवेश अनुमति पत्र वितरण गरिएको जानकारी दिए ।
‘चीन प्रवेश अनुमति पत्र वितरण सुरु गरेका छौ,’ प्रजिअ जोशीले भने, औपचारिक रुपमा नाका खुलेको छैन, तर, दुई देशबीच केहि समझदारी भएकाले प्रवेश पत्र जारी गरेका हौं । दुवै देशको समन्वयमा आउजाउ गर्न खुलाउने उच्चस्तरमा समझदारी भएको छ ।
गृह मन्त्रालयले पठाएको डिजाइनअनुसार जिल्लामै कार्ड छपाइ गरेर वितरण थालिएको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार व्यापारका लागि तिब्बत जान ७९ जनाले सिफारिस लिएका छन् ।
ढिलै भएपनि परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेपछि प्रवेशको लागि पास उपलब्ध भएको व्याँस गाउँपालिका–१ का स्थानीय योगेश बोहराले बताए । उनले भने, लामो संघर्षपछि बल्ल पास पाएका छौं । दुवै देशको सहजीकरणको आधारमा अब ताक्लाकोट गएर व्यापार गर्ने बाटो खुला भएको छ ।
ताक्लाकोटमा मात्रै दार्चुलाका व्यासीहरुको झण्डै तीन दर्जन बढि पसलहरु रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार