बजेट अभावले महाकाली करिडोरको काम सुस्त

बजेट अभाव भएपछि बहुचर्चित महाकाली करिडोरको काम सुस्त भएको छ । नेपाल–भारत र चीन सित नाका जोड्ने योजना सहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको हो।
सडक निर्माणको लागि बजेट नहुँदा सडकले गतिलिन सकेको छैन् । दार्चुला बासीको सपना सँग जोडिएको यो सडक अलपत्र जस्तै छ । चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको हो । कञ्चनपुर देखि दार्चुलाको तिङ्कर सम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।
महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजना कार्यालयले बजेट अभावका कारण काम सकेर पनि रकम भुक्तानी गर्न नसकेको जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले गत माघको अन्तिम सातादेखि बजेट अभावले काम प्रभावित भएको बताए ।
‘गतवर्ष ४० करोड बजेट हुँदा पनि त्यो सकिने बित्तिकै तत्काल माथिबाट बजेट थप भएको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा बजेट कम थियो, त्यस माथि पनि बजेट माग गर्दा आएको छैन ।’उनले योजनाका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताए ।
माघ महिना यता निर्माण कम्पनीहरूले काम गरे बापतको १६ करोड रकम भुक्तानी बाँकी रहेको प्रमुख जोशीले बताए । माथिबाट बजेट आउने सुनिश्चितता भएको छैन् । तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली कोरिडोर अन्तर्गत दार्चुलाको तुसारपानी देखि तिङ्कर सम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । त्यसैगरी दुई सय ४५ किलोमिटर कोरिडोरको ट्रयाक खुलिसकेको प्रमुख जोशीले जानकारी दिए ।
‘ट्रयाक खुलाउने, सडक स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कामहरू एक साथ अघि बढेको छ,’ जोशीले भने, ‘कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर ट्र्याक मात्रै खुलेको छ । त्यहाँ सडक चौडा गर्ने अरू संरचना निर्माण बाँकी छ ।’कोरिडोर योजना अन्तर्गत डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ ।
२०६५÷६६ सालमा दार्चुला–तिङ्कर सडक योजनाबाट सुरु भएको कोरिडोरलाई त्रिदेशीयनाकाका रूपमा विकास गर्ने अवधारणा सहित २०७७÷७८ सालमा कञ्चनपुर सम्म जोडिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार