दुहुँको झोलुङ्गे पुलमा काम गरेका मजदुरले पाए ज्याला

दार्चुला । दुहुँ गाउँपालिकास्थित ‘थल सिलिङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल’ निर्माणमा संलग्न मजदुरहरूको लामो समयदेखि रोकिएको ज्याला तथा निर्माण सामग्रीको बक्यौता पाएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयपछि निर्माण व्यवसायीले ज्याला र निर्माण सामाग्रीबाफतकाे रकम भुक्तानी गराएका हुन् ।

पुल निर्माणसम्पन्न भएको पाँच वर्षसम्म ज्याला नपाएको भन्दै मजदुरहरू पटकपटक आन्दाेलित भएका थिए । एकसाता अघि मजदुरले झाेलुङ्गे पुलमा आवतजावत ठप्प पारेका थिए ।

जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा निर्माण कार्य सम्पन्न भएको करिब पाँच वर्षपछि निर्माण कम्पनीले मजदुरहरूको बैंक खातामा रु. २१ लाख ३४ हजार ९ सय र चेकमार्फत १५ लाख ३० हजार गरी कुल ३६ लाख ६४ हजार ९ सय भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माेहनसिह धामीले जानकारी दिए ।

निर्माण कम्पनीका सञ्चालक बसन्त बुढाथोकीले प्रशासनकाे समन्वयमा रकम पठाएका हुन् । प्रशासनले जिल्लाका अन्य निर्माण आयोजनामा पनि मजदुर, निर्माण सामग्री आपूर्तिकर्ता तथा सम्बन्धित पक्षको भुक्तानी रोकिएको गुनासो बढ्दै गएको भन्दै सबै निर्माण व्यवसायी तथा ठेकेदारलाई समयमै भुक्तानी गर्न निर्देशन दिएको छ।

साथै, निर्माण सम्झौताअनुसार तोकिएको समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न र कसैको भुक्तानी बाँकी नराख्न आग्रह गर्दै अटेर गरे प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार