दार्चुलामा १४ औँ राष्ट्रपति रनिङ शिल्डका लागि पालिकाहरु खेलाडी छनोट र पूर्वअभ्यास गराउदै

दार्चुला । २०८० माघ २५ गतेबाट दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ शिवनगर खेलमैदानमा सञ्चालन हुने १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि आवश्यक तयारी भइरहेको छ । शिवनगर खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागि फिल्ड सम्याउने, खेल सामाग्रीहरु संकलन लगायतका आवश्यक तयारी भइरहेको जिल्ला खेलकुद समिति दार्चुलाका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि दार्चुलाका ९ वटै स्थानीय तहहरुमा समेत आवश्यक तयारी भइरहेको छ । पुस महिनामै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका स्थानीय तहहरु जिल्लास्तरीय प्रतियोगिताको तयारी जुटेका छन । जिल्लास्तरीय प्रतियोगिताको लागि खेलाडी छनोट र खेलाडीहरुलाइ आवश्यक अभ्यास लगायतका कार्यहरु भइरहेको सम्वन्धित स्थानीय तहहरुले बताएका छन ।

जसअन्र्तरगत लेकम गाउँपालिकावाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि छनोटमा परेका विद्यार्थीहरुलाई माघ २३ गते वडा नम्बर ३ लालीमा पुर्वअभ्यास, टिम सेट लगायतका कार्यहरु गरेर माघ २४ गते दार्चुला जाने गरि आवश्यक तयारी भइरहेको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशव राज ओझाले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकामा पनी टिम छनोट लगायतको तयारी भइरहेको सूचना अधिकारी मनोरथ जोशीले बताउनुभयो ।

दार्चुलाको लेकम, शैल्यशिखर, मालिकार्जुन, महाकाली, नौगाड, मार्मा, व्याँस, दुहुँ र अपिहिमाल सबै पालिकामा आवश्यक तयारी भइरहेको बताइएको छ ।

प्रतियोगिता २५ देखि २७ गतेसम्म खलंगामा सञ्चालन हुने खेलकुद समितिले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार