एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

काठमाण्डौ – साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा आज भएको फाइनलमा पुलिसले एपीएफलाई ३–१ को सेटले हरायो । एपीएफले पहिलो सेट २५–२२ ले जिते पनि त्यसपछि लगातार ३ वटा सेट गुमायो । पुलिसले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२३ ले गुमायो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले हरायो । गण्डकीले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ को बराबरीमा ल्यायो । तर त्यसपछिको २ सेट जित्दै गण्डकी विजयी भयो । गण्डकीले तेस्रो सेट २६–२४ र चौथो सेट २५–२२ ले जित्यो ।

गएको पुस २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ३ वटा विभागीय टोलीसँगै ७ वटा प्रदेश गरी १० वटा टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार