नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् ।
माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् ।
बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताउनुभयो । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौं’, रावलले भन्नुभयो, ‘हाम्रो एजेण्डालाई उहाँहरुले सकरात्मक रुपमा लिनुभएको छ ।’
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेका सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन् ।
प्रधानमन्त्रीलाई भेट्न सभामुख भीमबहादुर भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल, प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी विक बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा प्रदेश संसदीय दलका नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशबहादुर धामी, सामाजिक विकास मन्त्री झपटबहादुर बोहरा र प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर थिएनन् ।
सुदूरपश्चिम प्रदेश सरकार विस्तारका क्रममा संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य अक्कलबहादुर रावल र ओमबिक्रम भाट मन्त्री बन्ने चर्चा थियो तर उनीहरुलाई सरकारमा नपठाएपछि माओवादी केन्द्र सुदूरपश्चिममा असन्तुष्टि बढेको थियो ।
प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रसँग ११ जना सांसद छन् । उनीहरु मध्ये ७ जनाले प्रधानमन्त्रीलाई भेटेर नेता र मन्त्री फेर्नुपर्ने माग अघि सारेका हुन् । अनलाइनखबर