बैतडी –संघीय सरकार मातहत रहेको बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले तलब पाएका छैनन् । चालु आर्थिक बर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिले सम्म तलब पाएका छैनन् ।
संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ ।
झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन् । उनीहरुले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन् ।
सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो । अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य कार्यालयमार्फत तलब निकासा भएको थियो ।
अहिले हेल्थ डेस्क संघीय सरकार मातहत रहेको र उनीहरुको तलब स्वास्थ्य निर्देशनालयमार्फत भुक्तानी हुने भएपनि चालु आर्थिक बर्षमा तलब निकासा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
आफूहरुले चार महिनायता तलब नपाएको डेस्कमा कार्यरत ल्याब असिष्टेन्ट राजेन्द्र लुहारले बताए । श्रोतको अभावमा तलब नपाएको जानकारी आएको र यो महिनाभित्रै तलब निकासा हुने आश्वासन पाएको उनले बताए । उनले भने ‘यो महिनाभित्र तलब निकासा हुने आश्वासन पाएका छौं । यो महिनाभित्र तलब आउला भन्ने आसा छ ।’
सीमा नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत नियमित रुपमा कोरोना परीक्षण हुँदै आएको छ । भारतबाट फर्कने नागरिकको कोरोना परीक्षणका साथै अन्य जाँचहरु समेत गर्ने गरिएको ल्याब असिष्टेन्ट लुहारले बताए ।