दार्चुला । अपिहिमाल गाउँपालिका–९ स्थित भट्टार बस्तीनजिकै आएको पहिरोका कारण स्थानीय बाटाे, पदमार्ग अवरुद्ध भएकाे छ ।
शुक्रबार बिहानैदेखि पहिरो खस्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्।

स्थानीय जयप्रकाश लोथ्यालका अनुसार पहिरो भट्टार गाउँ नजिकैसम्म पुगेको छ। पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा ठूलो क्षति पुगेको छ भने भट्टारबाट खायाकोट, ल्वाथी र लुम्चातर्फ जाने बाटाे अवरुद्ध भएको छ।
महादेव आधारभूत विद्यालय जाने यहि पदमार्ग हाे ।

पहिरो खस्दै चमेलिया नदीसम्म पुगेपछि नदी आधाजसो थुनिएको छ। नदीको एक ठाउँबाट पानी निकास भइरहेको भए पनि पहिरो निरन्तर खसिरहेकाले नदी थुनिन सक्ने जोखिम बढेको छ। नदी थुनिएर एक्कासि पानीको बहाव बढेमा तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम हुन सक्ने स्थानीयको चिन्ता छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपिहिमाल गाउँपालिका–९ भट्टारस्थित चौलानी नदीमा आएको पहिरोले नदी आधा थुनिएको भन्दै स्थानीय तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमबाट बच्न नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) ११४५, विपद् व्यवस्थापनसम्बन्धी सम्पर्क तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।














