कञ्चनपुर — माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको छ । नेपाल- भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा बिहीबार मध्यान्ह गरिएको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ३० हजार ७३५ क्युसेक पुगेको जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

बढ्दो बहावका कारण नेपाल(भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । दुईपाङ्ग्रे सवारी र पैदल आवागमनबारे सुरक्षा निकायले अवस्था मूल्यांकन गरिरहेको जनाइएको छ ।

एक साताअघि भारतको उत्तराखण्डस्थित धारचुलामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा जमेको सिल्ट हटाउन सबै ढोका खोलिएको थियो । त्यसयता सुदूरपश्चिमको पहाडी क्षेत्र र उत्तराखण्डमा निरन्तर वर्षा समेत भइरहेकाले महाकाली नदीको जलस्तर लगातार बढ्दै गएको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ












