दार्चुला । महाकाली नगरपालिकाको खलंगादेखि नौगाडको दल्लेख जोड्ने प्रदेश गौरवको खलंगा–खार सडक वर्षायामसँगै जोखिमपूर्ण बनेको छ । सडक हिलाम्मे, खाल्डाखुल्डी र चिप्लो भएपछि यात्रु तथा यातायात व्यवसायी दुवैले सास्ती खेप्नुपरेको छ ।

जोखिमपूर्ण सडकको अवस्था सुधार नगरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीको भाडादर घटाएको भन्दै यातायात व्यवसायी असन्तुष्ट बनेका छन् ।
खलंगादेखि दल्लेखसम्मको १६ किलोमिटर सडकका धेरै स्थानमा सवारी सञ्चालन गर्नै कठिन भएको छ । सडकमा हिलो जमेको, ठूला खाल्डा परेको र पानी निकासको उचित व्यवस्था नहुँदा यात्रुवाहक सवारी जोखिम मोलेर सञ्चालन भइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले साउन ५ गतेको निर्णयअनुसार प्रतिकिलोमिटर १४ रुपैयाँका दरले भाडा कायम गरेको छ । सोअनुसार खलंगादेखि खारसम्मको भाडा २४८ रुपैयाँ निर्धारण गरिएको छ ।
यातायात व्यवसायी हरकसिंह नगालले सडकको दयनीय अवस्थाका कारण सवारी सञ्चालन गर्न निकै कठिन भएको बताए । उनका अनुसार सडकभरि हिलो र खाल्डाखुल्डी हुँदा सवारीको मर्मत खर्च बढेको, यात्रा अवधि लम्बिएको तथा दुर्घटनाको जोखिमसमेत उच्च बनेको छ ।
‘प्रशासनले सडकलाई ग्राभेल सडक भनेको छ, तर अहिलेको वास्तविक अवस्थाको अनुगमन भएको छैन । यस्तो सडकमा गाडी चलाउनु आफैंमा चुनौती हो । एकातिर सञ्चालन खर्च बढेको छ भने अर्कोतिर भाडा घटाइएको छ,’ उनले भने ।


उनका अनुसार प्रशासनले सडकको वास्तविक अवस्थाको स्थलगत अनुगमन नगरी भाडादर निर्धारण गरेको हो । यातायात व्यवसायीहरूले भाडा निर्धारण गर्दा सडकको अवस्था, सञ्चालन लागत र व्यवसायीले भोगिरहेका कठिनाइलाई समेत आधार बनाउनुपर्ने माग गरेका छन् ।
भाडादर घटाएको विरोधमा स्थानीय यातायात व्यवसायीले केही दिन मार्मा, लटिनाथ र लेकम क्षेत्रमा सार्वजनिक यातायातसमेत ठप्प पारेका थिए ।
नौगाड गाउँपालिकाकी गायत्री रावलले भाडादर घटाउने निर्णय भए पनि सडकको अवस्थाबारे प्रशासनले अनुगमन नगरेको गुनासो गरिन् । ‘एकातिर प्रशासनले भाडा घटाएको छ, अर्कोतिर यात्रु हिँड्ने सडकको अवस्था हेर्नसमेत आएको छैन,’ उनले भनिन्, ‘सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी सडक मर्मत र सुरक्षित यातायात सञ्चालनको व्यवस्था गर्नुपर्छ ।’

सडक बिग्रिँदा यात्रु लामो समय बाटोमै अलपत्र पर्ने, आकस्मिक बिरामीलाई अस्पताल पु¥याउन कठिन हुने तथा कृषि उपज बजारसम्म ढुवानी गर्न ढिलाइ हुने गरेको स्थानीयको गुनासो छ ।
पछिल्लो समय नौगाड गाउँपालिकाको खार–दल्लेख क्षेत्रबाट उत्पादन हुने तरकारी समयमै बजार पुग्न नसक्दा किसान मारमा परेका छन् । नियमित यातायात सञ्चालन नहुँदा पोलिहाउसमा उत्पादन भएको टमाटर र काँक्रासमेत कुहिन थालेको किसान धनसिंह सितोलीले बताए ।
सदरमुकाम खलंगाको आधा बजार यही क्षेत्रको तरकारीले धानेको छ । भारतीय बजारबाट तरकारी आउन बन्द भएपछि नौगाड क्षेत्रको तरकारी बजारमा आउने गरेको छ । तर बर्खायाममा सडक सुधार नहुँदा किसानले निकै सास्ती भोग्नु परेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले भने भाडादर सरोकारवाला निकायहरूको सहमतिमै निर्धारण गरिएको बताए । ‘दार्चुलाको भाडादर अन्य जिल्लाको तुलनामा कम नै छ । यातायात व्यवसायीको सहमतिमै भाडादर निर्धारण गरिएको हो,’ उनले भने, ‘सडक बिग्रिएका स्थान सम्बन्धित निकायले तत्काल मर्मत गरी सुरक्षित रूपमा सञ्चालन गर्नुपर्छ ।’
प्रशासनले भाडादर कायम गर्ने सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी मोनसिह धामीको नेतृत्वमा समिति गठन गरेको थियो ।











