दार्चुलामा डेंगी लार्भा खोज तथा नष्ट अभियान

दार्चुलाको महाकाली नगरपालिकाको स्वास्थ्य शाखाद्वारा नगरपालिकाभित्र डेंगी लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको छ । वर्षायाममा डेंगी बढ्ने भन्दै नगरपालिकाभरि डेंगी लार्भा खोज तथा नष्ट अभियान सञ्चालन भएको हो ।

महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अनमी लालजिरा रावतका अनुसार नगरपालिकाको ९ वटै वडामा यो अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत वडा नम्बर ४ को बजार क्षेत्रमा मात्रै ९५४ घरधुरीमा अनुगमन तथा निरीक्षण गरिएको छ ।

नगरपालिकाको बढी घरधुरी रहेको वडा नम्बर ४ र ५ का बजार क्षेत्रलाई बढि केन्द्रित गरी अभियान सञ्चालन गरिएको छ । वडा नम्बर ४ मा सिनियर अनमी हरिदेवी खत्रीको नेतृत्वमा बाङागाबगड क्षेत्रमा तथा सिनियर अहेव अनिरुद्र धामीको नेतृत्वमा खलंगा बजार क्षेत्रमा टोली परिचालन गरेर खोज तथा नष्ट अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
अभियानको क्रममा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्भा तथा लामखुट्टे फेला परेको आधारभूत स्वास्थ्य केन्द्र बांगाबगडका सिनियर अनमी हरिदेवी खत्रीले जानकारी दिइन् । बंगाबग क्षेत्रका पानीको भाडा राखिएको खुला ठाउँ तथा ड्रमहरुमा समेत लार्भा भेटिएको हो ।

उनका अनुसार लार्भा भेटिएका पानीका ड्रम तथा भाँडाहरू तत्काल खाली गराई सफा गर्न लगाइएको छ । साथै सम्बन्धित घरधनीलाई डेंगी संक्रमण, यसका लक्षण तथा रोकथामका उपायबारे जानकारीसमेत सँगै गराउने काम भएको उनले बताइन् ।

त्यसैगरी सिनियर अहेव अनिरुद्र धामीको नेतृत्वमा खटिएको टोलीले खलंगा बजार क्षेत्रका घरधुरीमा अनुगमन गरेको छ । यो क्षेत्रका ९ घरधुरीमा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्भा तथा लामखुट्टे फेला परेको धामीले जानकारी दिए । लार्भा भेटिएका स्थानमा पानीका ड्रम तथा भाँडाहरू खाली गराई सरसफाइ गरिएको उनले बताए ।
अनुगमनका क्रममा वडा नम्बर ४ का ९५४ घरधुरीमध्ये ३० घरधुरीमा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्भा तथा लामखुट्टे फेला परेको सिनियर अनमी खत्रीले जानकारी दिइन् ।
यस्तै सदरमुका बाहिरका वडाहरुमा समेत निरन्तर खोज तथा नष्ट अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखाका सिनियर अनमी रावतले बताइन् । अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

वर्षायाममा पानी जम्ने र घाम लाग्ने अवस्थाले लामखुट्टे वृद्धि हुन अनुकूल वातावरण सिर्जना गर्ने भएकाले विशेषगरी साउन, भदौ र असोज महिनामा डेंगी संक्रमणको जोखिम बढ्ने गर्दछ । डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घर वरिपरि पानी जम्न नदिने, पूरा शरीर ढाक्ने कपडा लगाउने तथा झुल प्रयोग गरेर सुत्ने जस्ता सावधानी अपनाउन आग्रह गरिएको रावतले जानकारी दिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार