दार्चुला— दार्चुलामा अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको वनपैदावारसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहुँ गाउँपालिकापा- ४ का पवनसिह कार्की, रमेशसिह कार्की, गोकर्ण सिह कार्की र शैलेन्द्रसिह कार्की रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी हिकिला र ब्रह्मदेवबाट खटिएको संयुक्त टोलीले दुहुँ गाउँपालिका–३ कालिगाडबाट उनिहरूलाई पक्राउ गरेको हो ।

महाकाली किनार क्षेत्रमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ओसारपसार भइरहेको वनपैदावार बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।
प्रहरीले नेपालबाट भारततर्फ चोरी निकासी भइरहेको वनपैदावार (झ्याउ) ३९ बोरा बरामद गरेको जनाएको छ । बरामद गरिएको झ्याउको तौल १ हजार ३ सय ६८ किलोग्राम रहेको उनले बताए ।
उक्त झ्याउको अनुमानित मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ बराबर रहेको जनाएको छ ।
घटनामा संलग्न चार जनालाई थप अनुसन्धानको लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरीले जनाएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले उनिहरू माथि अनुसन्धान सुरू गरेकाे जनाएको छ ।








