दार्चुला । विद्यार्थी संख्या न्यून भएपछि दार्चुलाको व्याँस गाउँपालिकाले पालिकाभित्रका ६ वटा विद्यालय समायोजन गरेको छ । सरकारको सार्वजनिक विद्यालय समायोजन (मर्ज) नीति अनुरुप विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरिएको हो ।

व्यास गाउँपालिका शिक्षा शाखाका अनुसार हुस्कर आधारभूत विद्यालय डोकट र ब्रहम आधारभूत विद्यालय डोबलाई सम्माल माध्यमिक विद्यालय सुनसेरामा समायोजन गरिएको छ । डोकटमा ८ जना र डोबमा ७ जना मात्रै विद्यार्थी रहेपछि विद्यालय समायोजन गरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रसिंह बडालले जानकारी दिए ।

यस्तै लट्बाव आधारभूत विद्यालय जयपुर र मालिकार्जुन आधारभूत विद्यालय पन्तोलीलाई हिमालय माध्यमिक विद्यालय हुतीमा समायोजन गरिएको छ । जयपुरमा ८ जना र पन्तोलीमा ७ जना विद्यार्थी अध्ययनरत रहेका थिए ।
समायोजन गरिएका चारवटै आधारभूत विद्यालयमा भने बालविकास कक्षा यथावत सञ्चालन हुने जनाइएको छ ।
यसैगरी महादेव आधारभूत विद्यालय तुसरपानीलाई सिद्ध माध्यमिक विद्यालय सिनामा तथा हुस्कर आधारभूत विद्यालयलाई बसन्तपुर माध्यमिक विद्यालय बसेडीमा समायोजन गरिएको बडालले बताए । तुसरपानीमा ३ जना र हुस्करमा २ जना मात्रै विद्यार्थी भर्ना भएका थिए ।
त्यसैगरी पञ्चादेव आधारभूत विद्यालय दम्फा र गणेश आधारभूत विद्यालय बनानीमा कक्षा ०–५ सम्म सञ्चालन हुँदै आएकोमा तह समायोजन गर्दै अब कक्षा ०–३ मात्रै सञ्चालन गरिने भएको छ ।
विद्यालय समायोजनपछि विद्यार्थीलाई विद्यालय पुग्न सहज भएको शिक्षा शाखाले जनाएको छ । विद्यार्थी संख्या, भौगोलिक अवस्था तथा पहुँचलाई आधार बनाएर विद्यालय समायोजन गरिएको प्रमुख बडालले बताए ।
“समायोजनपछि विद्यार्थीले आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने अवस्था छैन,” उनले भने, “शिक्षक व्यवस्थापन र समायोजनमा पनि सहजता भएको छ ।”
सरकारले विद्यार्थी संख्या कम भएका विद्यालयलाई समायोजन गर्ने नीति अघि सारेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन ०८१|०८२ ले समेत व्याँस गाउँपालिकाका विद्यालय समायोजन गर्न सुझाव दिएको थियो ।






