सरकारले निजी मेडिकल, डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले सम्बन्धित एसोसिएसनलाई पत्र जारी गर्दै गत १५ कात्तिकको सहमति कार्यान्वयन गर्न भनेको हो।

सहमति अनुसार, निजी मेडिकल कलेजले शिक्षण अस्पतालका नर्सलाई कम्तीमा पाँचौँ तहको सुरु तलब ३४,७३० रुपैयाँ दिनेछ भने अन्य निजीरसामुदायिक अस्पताल र डेण्टल कलेजले ८० प्रतिशत तलब उपलब्ध गराउनुपर्ने भनिएको थियो ।

उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
पत्रमा सहमतिअनुसार पारिश्रमिक नदिइएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ ।






