दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीहरूको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी) मार्फत मासिक रूपमा भुक्तानी गर्न थालेको हो ।
नेपाल सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले मङ्सिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयको निर्देशनअनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताए ।
यसअघि त्रैमासिक रुपमा भुक्तानी हुँदै आएको शिक्षक र कर्मचारीको तलब मासिक रूपमा भुक्तानी भइरहेको गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए । माघ, फागुन र चैत महिनाको शिक्षकको तबल भत्ता भुक्तानी थालिएको छ । पालिकाले अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि पाउने तलब भत्ता मासिक रूपमा भुक्तानी गराउने छ ।
मालिकार्जुन गाउँपालिकामा ३८ ओटा सामुदायिक विद्यालयका ३३२ शिक्षक र कर्मचारीले मासिक रूपमा तलब भत्ता पाउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत लोकेन्द्रसिंह धामीले बताए ।
गाउँपालिकाले विद्युतीय सूत्र प्रणाली (ईएफटी) मार्फत एक क्लिकमा शिक्षकको तलब भत्ताका साथै नागरिक लगानी कोष र सञ्चय कोष समेत सम्बन्धित खातामा पठाइने गरिएको छ । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता अबदेखि निकासा प्राप्त हुनासाथ मासिक रुपमा भुक्तानी गरिने गाउँपालिकाले जनाएको छ ।

