दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षाफल एक दिनमै प्रकाशित गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले परीक्षा सकिएकै दाेस्राे दिन परीक्षाफल प्रकाशित गरेको हो ।
फागुन २५ गतेबाट सञ्चालन भएको गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा चैत ४ गते सकिएको थियो । शिक्षा युवा तथा खेलकुद शाखाले परीक्षा सकिएको एक दिनमै परीक्षाफल प्रकाशन गर्न सफल भएको छ ।
गाउँपालिकाभरिबाट १४ वटा विद्यालयका ३ सय २८ जना विद्यार्थीले आधारभुत तह कक्षा ८ को बार्षिक परीक्षामा सहभागिता जनाएकोमा १६७ जना विद्यार्थी उर्तीण भएको गाउँपालिका शिक्षा अधिकृत लोकेन्द्रसिह धामीले जानकारी दिए ।
परीक्षामा सहभागि भएका १६१ जना विद्यार्थी ननग्रेडेड भएका छन् । पालिकाभरिमा बालिचन आधारभूत विद्यालय चडेखान, कृष्ण मावि डाडाकोटले सतप्रतशित नतीजा ल्याउँदा सरस्वती मावि उकुले शून्य नतीजा ल्याएको छ । यस्तै हुनैनाथ मावि चन्दनपुरले ९४ प्रतिशत, खान मावि ऐरिछानाले ९० प्रतिशत, निलपातेश्वर मावि भर्तोलाले ८८ प्रतिशत, र सरस्वति मावि सेलिचामाले ७० प्रतिशत नतीजा ल्याएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाले बढीमा २ विषयमा ननग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको धामीले बताए । ग्रेड बृद्धि परीक्षा चैत २० र २१ गते सञ्चालन गर्ने जनाइएको छ ।


