शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकाँडाको भवन चार करोड लागतमा निर्माण गरिएको छ । भारतीय राजदुताबासको असी प्रतिशत र शैल्यशिखर नगरपालिकाको बीस प्रतिशत लागतमा भवन निर्माण गरिएको हो ।
नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण भएको विद्यालय भवनको शुक्रबार औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । शैल्यशिखर नगर प्रमुख बिजयसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूकोे प्रमुख आतिथ्यता रह्यो भने पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंह विशिष्ट अतिथि थिए ।
विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले भारत सरकारले गरेको यो सहयोग ऐतिहासिक मित्रता र समन्वयको प्रतिक भएको बताए । उनले भने, भारत र नेपाल बीचको सम्बन्ध जीवन्त राख्न परियोजनाकोमार्फत थप मदत पुगेको छ । आगामी दिनमा पनि भारतबाट हुने सहयोगको निरन्तरताका लागि पूर्वमन्त्री बडूले आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले सदिऔँ देखि नेपाल र भारत बीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए । जिल्लामा निर्माण भएका भौतिक संरचनाले अझै आगामी दिनमा पनि मित्रता कायम रहँदै थप सहयोग बढ्नेमा विश्वस्त रहेको बताए ।
भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहले साँझा लाभका लागि भारत सँधै सहयोग गर्न तत्पर रहेको भन्दै शिक्षा, स्वास्थ्य क्षेत्रमा निर्माण हुने योजना तथा परियोजनामा सहयोग निरन्तर रहने बताए ।
भवन निर्माण नमस्कार जेभी निर्माण सेवाले ११ महिनामा सम्पन्न गरेको थियो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४१ वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ ।
जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

चार करोड लागतमा गलैनाथ मावि झरकाँडाको विद्यालय भवन निर्माण

