दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल तथा गोकुलेश्वर आँखा उपचार केन्द्रको आयोजनामा आगामी माघ ४ गते देखि ६ गते सम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने आयोजक गोकुलेश्वर आँखा उपचार केन्द्रले जनाएको छ।
गोकुलेश्वर स्थित गोकुलेश्वर माविमा २ दिन सम्म चल्ने शिविरमा मोतिबिन्दु लगायत आँखाका अन्य समस्या भएका रोगीहरुको निःशुल्क अप्रेशन गरिने, निःशुल्क औषधी उपललब्ध गराउने र चश्माको आवश्यकता भएकाहरुलाई सुपथमुल्यमा चश्मा उपलब्ध गराउने आयोजक गेटा आँखा अस्पतालका डाक्टर सुरेश राज पन्तले जानकारी दिए ।

त्यस्तै शिविरमा अप्रेशन गर्नुपर्ने बिरामीको साथमा एक जना आफन्त अनिवार्य हुनुपर्ने तथा खाना बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने जनाइएको छ। २ दिन सम्म सञ्चालन हुने निःशुल्क आँखा शिविरमा शैल्यशिखर नगरपालिकाको पनि सहकार्य रहेको छ।






