राष्ट्रिय गौरबको महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक योजनालाई छुट्टै योजना बनाउने मन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन् । दार्चुला–टिंकर सडक योजनाको निरीक्षण भ्रमणमा आएका रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले योजना दार्चुला–टिंकर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
निरीक्षण भ्रमणमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल समेतको उपस्थिति थियो । दार्चुला–टिंकर सडक खण्डको हवाइ निरीक्षणपछि सुनसेरामा भएको ब्रिफिङ कार्यक्रममा मन्त्रीले यहाँको भौगोलिक अवस्थाका कारण पनि छुट्टै योजनाको रुपमा अघि बढाउन सहमत भएको प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
उनले भने, ‘अहिलेको भ्रमणले मुख्यतया तिन वटा उपलब्धि हासिल हुने देखेको छु । मन्त्रीद्धयले टिंकर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने, पाँच वर्षभित्र सडकको ट्रयाक खुलाउने गरी बजेट व्यवस्थापन गर्ने र हेलिकप्टरमार्फत व्याँसको छाङ्गरुमा स्काभेटर पु¥याउने प्रतिबद्धता भएको छ ।’ यो निरीक्षण भ्रमण अरु भ्रमणको भन्दा फरक महत्वको थियो ।
छाङ्गरुमा स्काभेटर हेलिकप्टरमार्फत ढुवानी गर्ने विषयमा प्रधानसेनापति सिग्देलले समेत बोलेका छन्, पूर्वमन्त्री बडूले भने । यसअघि २०८० पुष ९ गते तत्काली भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भ्रमण हुँदा पनि प्रतिबद्धता भएको थियो । तर बिचैमा सरकार परिवर्तन हुँदा भएको निर्णय कार्यान्वयन हुन सकेन् ।
अहिले विगतको भन्दा फरक र महशुस हुने गरी भ्रमण भएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले स्थायित्व प्रदान गर्छ । तत्कालै मन्त्री फेरबदल हुने अवस्था नहुने हुँदा अहिलेको भ्रमण उपलब्धिमूलक भएको म मान्दछु, बडूले भने ।
सेनाले बनाउने ७९ किलोमिटर सडकमा अहिले बजेट अभाव भएकै कारण प्रगति नभएको देखिएकै हो । अहिलेको भ्रमणपछि अलग्गै योजनाको रुपमा टुक्रयाएर बजेट व्यवस्थापन छुट्टै गर्ने भनिएको छ । सनाले २०७७ सालमामा सडक बनाउने जिम्मेवारी लिएको थियो । १० वर्षभित्र सडक ट्रयाक खोल्ने सेनाको लक्ष्य थियो ।
