दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने वडा अध्यक्ष उपनिर्वाचनको लागि नेकपा एमालेकातर्फबाट मानसिह बडालको उम्मेदवारी घोषणा गरिएको छ । यहि मङ्सिर १६ हुने उपनिर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन उम्मेदवारी घोषणा गरिएको हो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यमा भएको उम्मेदवारी घोषणा सभामा बडाललाई उम्मेदवार घोषणा गरिएको छ । बडाललाई पूर्व मन्त्री समेत रहेका ठगुन्नाले उम्मेदवार मनोनयनको पत्र दिएका छन् ।
स्थानीय तह उपनिर्वाचनको लागि आइतबार उम्मेदवार मनोनयनको समय तोकिएको छ । शनिबार भएको उम्मेदवारी घोषणा सभामा बोल्दै ठगुन्नाले दुहुँ ५ मा हुने उपनिर्वाचनमा वडा अध्यक्षका उम्मेदवार बडाललाई जिताउन दुहुँ ५ का स्थानीयलाई आग्रह गरे । दुहुँ गाउँपालिकाको नेतृत्व नेकपा एमालेले गरिरहेको सन्दर्भमा यहाँको विकासको लागि एमाले उम्मेदवार जिताउन उनले आग्रह गरे ।
घोषण सभामा केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ती, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
दुहुँ–५ मा ६ सय ४९ जना पुरुष र ६ सय २३ जना महिला गरि कुल १ हजार २ सय ७२ जना मतदाता रहेका छन् । यो वडामा नेपाली काग्रेंसले धन बहादुर कुवर तथा नेकपा माओवादी केन्द्रले बीरसिह कार्कीलाई उम्मेदवार बनाएको छ ।